तोसिमाको प्रश्न- सरकारले महिलाको नेतृत्वलाई कहिले स्वीकार गर्छ ?
काठमाडौं- स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा वरियता र जेष्ठता मिचिएको भन्दै संसद्मा प्रश्न उठेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद तोसिमा कार्कीले सचिव बढुवा गर्दा सरकारले वरियता मिचेको भन्दै आपत्ति जनाएकी हुन् ।
स्वास्थ्य मन्त्रालयको सचिवका लागि डा. संगिता कौशल मिश्रा, डा. टंकप्रसाद बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको थियो ।
बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले तेस्रो नम्बरमा रहेका डा विकासलाई सचिव बढ्वा गरेको थियो । महिला पनि भएको र जेष्ठतामा अघि रहेकी संगितालाई सचिव नबनाएर स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफू निकट विकासलाई सचिव बढुवा गरेको भन्दै तोसिमाले प्रश्न उठाएकी हुन् ।
‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । स्वास्थ्य मन्त्रालयको सचिवका लागि सिफारिस र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा. संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । यस्तो किन गरियो,’ उनले भनिन्, ‘पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो ? कि महिला नेतृतव स्वीकार नगरिएको हो ? सरकारसँग संसदले जवाफ माग्नुपर्छ ।’
उनले महिलालाई सङ्ख्या पुर्याउनमात्र सांसद बनाइने गरिएको बताइन् ।