त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालयमा तोडफोड
काठमाडौं– त्रिभुवन विश्वविद्यालयको रेक्टरको कार्यालयमा तोडफोड भएको छ।
त्रिवि सङ्घर्ष समितिले शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले तोडफोड गरेका हुन्।
केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन्। त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै तालाबन्दी गरिएको थियो। तर, रेक्टरले समन्वय नै नगरी ताला तोड्न लगाएपछि तोडफोड गरिएको विद्यार्थीहरूले जनाएका छन्।
त्रिविले विभिन्न ४ वटा विभागहरूलाई केन्द्रीय विभाग बनाएको थियो। अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति र विकास, लैङ्गिक अध्ययन र सामाजिक कार्य विभागलाई केन्द्रीय विभाग बनाएको थियो।
सेल्फ सस्टेन्ट कार्यक्रमहरूलाई केन्द्रीय विभाग बनाएपछि शुल्क घटाउनुपर्ने, स्ववियु मतदानको अधिकार प्रदान गर्नुपर्ने लगायतका माग राखेर त्रिवि सङ्घर्ष समितिको नामबाट तालाबन्दी गरिएको थियो।