Nic Ad Nic Ad
Nic Ad Nic Ad

देशकै ध्यान मधेसतिर तानिँदै छ : प्रचण्ड

शुक्रबार, फागुन २३, २०८१

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको बताएका छन् ।

samridhi jewllers

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेको दाबी गरे । 

अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसले मधेसका समस्या पहिचानमा फाइदा नै पुग्ने बताए ।

मधेसी जनताले भोगेको विभेद र अपमान मदेसको मात्रै नभई देशकै समस्या भएकाले मधेसी जनताको पहिचान, अधिकार र आर्थिक सामाजिक रूपान्तरण देशकै मुद्दा भएको उनको भनाइ थियो ।

झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठूलो उत्साह देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यो अभियान कन्चनपुर पुगेर सकिँदासम्म तराई मधेस जुरुक्कै उठ्ने विश्वास व्यक्त गरे ।  

समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनताको एकता अपरिहार्य र अनिवार्य भइसकेको उनले स्पष्ट गरे । अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।  

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलो पटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्