नेभिगेशन
राजनीति

गिरिजाले ०६३ मै ‘बेबी किङ’को विषय उठाएका थिए, शेखरले राजा ‘पूर्व’ हुँदैन भन्नुको अर्थ

अहिले फेरि राजसंस्था कायम गरिने विषय तिव्र बहस र आन्दोलनको विषय बनेको छ

काठमाडौं– नेपाली कांग्रेसभित्र अहिले चर्चाको विषय बनेको छ, डा. शेखर कोइरालाले राजा ‘पूर्व’ हुँदैन भन्ने विषय। 

उनले यसको व्याख्या गर्दै भनेका छन्,‘अमेरिकाका राष्ट्रपतिलाई पनि पूर्व भन्ने चलन छैन। राष्ट्राध्यक्ष भैसकेका कारण राजालाई पूर्व नभनौं। यसको गलत अर्थ नलागोस्। फेरि अर्को कोणबाट चर्चा होला।’

शेखरको यो भनाई यस्तो बेला आएको छ कि माहौला ज्ञानेन्द्र शाहको पक्षमा उर्लिरहेको छ। शेखरको यो कुराले कहिँ न कहिँ कांग्रेसको कोइराला कित्ता राजाप्रति नरम छ। यति मात्र होइन कांग्रेस नै राजाप्रति नरम हुनुको कारण सभापति शेरबहादुर देउवाले उत्तेजक र भयानक बिरोधी भाषा नबोल्नु पनि हो। 

त्यसो त राजसंस्थाप्रति कांग्रेस लोयल भएको विषय त गणतन्त्र घोषणाअघि नै थियो। जनआन्दोलन सकिनासाथ तत्कालिन राष्ट्र प्रमुखको समेत जिम्मेवारी पाएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ रहन सक्ने बताएका थिए। 

त्यसबेला ज्ञानेन्द्रका नाती हृदयेन्द्र २ देखि ३ बर्षको उमेरका थिए। अहिले राजगद्दी सम्हाल्न सक्ने लक्का जवान र राजनीतिक बुझक्कड भैसकेका छन्। 

गिरिजाको उक्त अभिव्यक्तिविरुद्ध बात्यसायनले बनाएको कार्टुन कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित भएको थियो। जनआन्दोलनको रापताप नसकिएका बेला वात्सायनले गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको सिनो बोकेको कार्टुन बनाएका थिए। 

तर गिरिजाले किन त्यसो भनेका थिए भन्ने पनि कारण छ।

गिरिजाले बेबी किङको कुरा नेपालको राजनीतिक संक्रमणकालीन समयमा गरेका थिए। त्यो समय नेपालमा राजतन्त्र उन्मूलनको बहस तीव्र थियो र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध व्यापक जनआन्दोलन भइसकेको थियो।

cartoon-1741416083.jpg
गिरिजाप्रसाद कोइराला समावेशी लोकतन्त्रमा विश्वास गर्थे, तर उनी तत्काल राजसंस्था पूर्णरूपमा हटाउनुभन्दा कुनै मध्यस्थ समाधान खोज्ने पक्षमा देखिन्थे। त्यसैले, उनले बेलायती मोडेल जस्तै संविधानसम्मत राजतन्त्र अपनाएर राजा ज्ञानेन्द्रलाई हटाएर युवराज पारस वा उनको छोरा हृदयेन्द्रलाई राजा बनाउने विकल्प प्रस्तुत गरेका थिए।

गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसभित्रै रहेको केही राजावादी धारलाई सन्तुलित पार्नका लागि पनि यस्तो कुरा उठाएको अनुमान गरिएको छ।

त्यतिबेला नेपाली सेनाको झुकाव राजसंस्थातर्फ थियो। सेनालाई तटस्थ राख्नका लागि कोइरालाले बेबी किङको सम्भावना प्रस्तुत गरेका थिए, जसले सशस्त्र संस्थाहरूसँग पनि राम्रो सम्बन्ध कायम राख्न सक्थ्यो।

राजा ज्ञानेन्द्रले आफ्नै छोरा पारसको चरित्रका कारण उनलाई राजा बनाउनुपर्छ भन्ने कुरालाई सकारात्मक रूपमा नलिएको बताइन्छ।

माओवादी, एमाले, र कांग्रेसकै धेरै नेताहरू पूर्ण गणतन्त्रको पक्षमा थिए।

२०६३–६४ को जनमत पूर्ण गणतन्त्रतर्फ गएकोले बेबी किङको विचार जनस्वीकार्यता प्राप्त गर्न सकेन।

तर अहिले फेरि राजसंस्था कायम गरिने विषय तिव्र बहस र आन्दोलनको विषय बनेको छ। ज्ञानेन्द्रले नै जनताले चाहेको खण्डमा अभिभावकत्व दिन सक्छु भन्ने बयानबाजी गरेपछि यो बहस झनै भयानक शैलीमा अगाडि आएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति

६ बजे मन्त्रिपरिषद् बैठक बस्दै

के सरकार परिवर्तन हुँदैछ?