रास्वपा प्रति जनताको आकर्षण बढिरहेको छ: उपसभापति वाग्ले
तनहुँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेले पछिल्लो समय पार्टीप्रति जनताको आकर्षण बढिरहेको बताएका छन् ।
पार्टीको भिमाद नगर समितिको आज आयोजित भेलालाई सम्बोधन गर्दै उनले देशभर पार्टीको पक्षमा जनलहर बढिरहेकाले जनताको विश्वास कायम राख्ने गरी काम गर्न सबै नेता, कार्यकर्तालाई आग्रह गरे ।
तल्लो स्तरसम्म पुगेर पार्टीको गतिविधिलाई चलायमान बनाउन आग्रह गर्दै उनले सबै मिलेर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । जनताले पार्टीप्रति गरेको विश्वासलाई डगमगाउन नदिने उनको भनाइ छ ।
पार्टीका जिल्ला संयोजक विश्व बास्तोला र व्यास नगर समितिका सभापति चुडामणि दाहालले जिल्लाका सबै पालिकामा पार्टीको भेलालाई तीव्र पारिएको जानकारी दिए ।
भेलाले नगर समितिको सभापतिमा हरिप्रसाद लम्साललाई चयन गरेको छ । त्यस्तै, उपसभापतिमा उत्तम सुवेदी, सचिवमा अमृत थापा, सहसचिवमा कमलभक्त गैह्रे, कोषाध्यक्षमा विमला भण्डारी र सदस्यहरूमा सुकुमाया गोतामे, टीकाराम राना र रामु नेपाली चयन भएका छन् ।