नेपाली महिला टोली नामिबियासँग ६ विकेटले पराजित
काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नामिबियासँग ६ विकेटले पराजित भएको छ ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि शुरु भएको चार देशीय सिरिजअन्तर्गत नेपालले ९३ रनको लक्ष्य दिएको थियो ।
नेपालले दिएको लक्ष्य पछाएको नामिबियाले ब्याटिङ गर्ने क्रममा वर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य तय भएको थियो ।
उक्त लक्ष्य नामिबियाले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले १९.५ ओभरमा ९२ रन बनाएको थियो ।
नेपालका लागि सम्झना खड्काले सर्वाधिक १८ रन बनाएकी थिइन् भने कविता जोशीले १६, पूजा महतोले १३ रन बनाएकी थिइन् ।
नामिबियाका लागि बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३-३ विकेट लिए, कायलिन ग्रिनले २ विकेट लिएकी थिइन् ।
अब नेपालले अर्को खेल आइतबार आयोजक युगाण्डासँग खेल्ने तालिका तय भइसकेको छ।