सुर्खेत र धनगढी विमानस्थलमा यती एअरलाइन्सको परीक्षण उडान
सुर्खेत - यति एअरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परीक्षण उडान गरेको छ । शनिबार यती एअरलाइन्सको ९ एन–एएमएन कल साइनको एटीआर ७२ विमानले सुर्खेत विमानस्थलमा सफल परीक्षण उडान गरेको हो ।
निकट भविष्यमै यति एअरलाइन्सले काठमाडौं–सुर्खेत नियमित उडान गर्ने एयरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान दिउँसो सवा १२ बजे सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो । परीक्षण उडानमा रहेको विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले जहाज उडाएका थिए ।
परीक्षण उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरुको टोली साथमा रहेका थिए । यती एअरलाइन्सले निकट भविष्यमा काठमाडौं सुर्खेत नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ । परीक्षण उडानको रिपोर्टको आधारमा आगामी दिनमा नियमित उडान गर्ने प्रवत्ता बर्तौलाले बताए ।
यती एअरलाइन्सले ७ वटा एटीआर ७२ विमानमार्फत नियमित रुपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरु गर्दै आएको छ । निकट भविष्यमा थप विमानमार्फत सेवा विस्तार गर्न लागेको एयरलाइन्सले जानकारी दिएको छ । यतिको प्रवेशसँगै कर्णालीको राजधानी सुर्खेतबाट दैनिक उडान थपिँदा यात्रुहरुलाई राहत मिल्ने छ ।