आर्थिक अनियमितताको आरोपमा जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही
काठमाडौं -जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव निलम्बित भएका छन् । पार्टीको केन्द्रीय अनुशासन समितिले कोषाध्यक्ष यादवलाई आर्थिक अनियमिततालगायतका विभिन्न विषयमा चार बुँदे स्पष्टीकरण माग्दै निलम्बन गरेको हो ।
अनुशासन समितिको तर्फबाट सदस्य सचिव अनिताकुमारी मण्डलले जारी गरेको विज्ञप्तिमा पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघका विदेशमा बस्दै आएका ६० भन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेबीका नाममा करोडौं उठाएर काठमाडौंको कोटेश्वरमा घर किनेको उल्लेख छ ।
‘...तपाई तथा संघका पूर्व अध्यक्षहरू ई. वसन्तकुमार कुशवाहा, ई. शम्भुनाथ साहले करोडौं पैसा उठाएर काठमाडौंको कोटेश्वरमा घर किनी प्रवासी होटल चलाउने, जनकपुरमा घर÷स्कुल चलाउनेसहितका विभिन्न कारोबारहरू सञ्चालन गर्दै आएको तर सोको हरहिसाव वा लाभ उनीहरूलाई नबुझाउने, पैसा पनि फिर्ता नगरिदिने र सो विषयमा पार्टीमा पटक–पटक ठगी गरेको भनेर उजुरी परेपछि पटकपटक अनुरोध गर्दा पनि उनीहरूसँग हरहिसाब क्लियर नगरेको’ विज्ञप्तिमा भनिएको छ ।