यस्तो छ ज्ञानेन्द्र शाहको विमानस्थलबाट निर्मल निवास छिर्ने ‘रुट’, पहिलो सुरक्षा घेरा शिव सेनाको
काठमाडौं– साबिकको मध्यपश्चिम र पश्चिमाञ्चल क्षेत्र तथा हालको गण्डकी प्रदेशको भ्रमण सकी आइतबार काठमाडौं फर्किँदै गरेका ज्ञानेन्द्र शाहका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निर्मल निवाससम्म मोटरसाइकलको स्कर्टिङसहित राजावादी शक्तिले व्यापक प्रदर्शन गर्न लागेका छन्।
यसका निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, दुर्गा प्रसाईको नागरिक बचाऊ महाअभियान, शिव सेना नेपाल र हिन्दूवादी विभिन्न संघ संस्थाका प्रतिनिधि र आम सर्वसाधारण स्वागतका लागि बस्नेछन्।
शाहको निर्मल निवास प्रवेशसम्मको ‘रुट’ समेत बनिसकेको छ।
पहिलो घेरा शिव सेना नेपालका कार्यकर्ताले दिनेछन्। ‘सरकारको सुरक्षा र मोटरसाइकलसहितको र्यालीको पहिलो घेरा शिव सेना नेपालको हुनेछ’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले भने,‘सरकारले सुरक्षाको आफ्नो तयारी गरेको हुनुपर्छ।’
शाह विमानस्थलबाट गौशाला, चाबहिल, धुम्बाराही, महाराजगञ्ज हुँदै त्रिवि शिक्षण अस्पताल मार्गबाट त्यसैअघि रहेको निर्मल निवास जानेछन्।
चक्रपथ क्षेत्रमा राजावादी संघ संस्थाका प्रतिनिधिलाई सडकका छेउ किनारमा स्वागतका लागि बस्न आह्वान गरिएको छ। यता प्रशासनले पनि सुरक्षाको हाई अलर्ट गरेको छ।
शाहको सुरक्षाका निम्ति पहिलो घेरा नेपाल प्रहरी, सशस्त्र प्रहरीको स्कर्टिङ, नेपाली सेनाको बाहिरी घेरा र सम्भावित घटनाको सुरक्षाका निम्ति सूचनामा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीको बाक्लो संख्या खटाइएको छ।
शाह पोखरा विमानस्थलबाट साढे ३ बजेको विमानबाट काठमाडौंमा ४ बजे अवतरण गर्ने तयारी रहेको बताइएको छ। त्यसका लागि पोखरामा ३ बजेसम्म ठूलो संख्यामा शाहका समर्थक, शुभचिन्तक र राजावादी संघ संस्थाका प्रतिनिधिले विदाई गर्ने कार्यक्रम रहेको शिव सेना नेपालका अध्यक्ष बस्नेतले क्यानडानेपाललाई जानकारी दिए।