पूर्वराजाको स्वागतमा राप्रपा अध्यक्ष लिङ्देन सहभागी नहुने
काठमाडौं- ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहभागी नहुने भएका छन् । पार्टीले यसको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ ।
शाहीले अध्यक्ष स्वागत र्यालीमा सहभागी नहुने बताए । ‘अध्यक्षज्यु आज सहभागी हुनुहुन्न । उहाँले मलाई र प्रवक्ता ज्यूलाई स्वागत कार्यक्रम अगाडि बढाउने जिम्मा दिनुभएको छ,’ शाहीले भने ।
प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थितिबारे अहिलेसम्म जानकारी नभएको बताए । ‘अध्यक्षज्युले केही भन्नु भएको छैन,’ उनले भने ।
राजावादी समर्थकहरु गौशाला र तीनकुने क्षेत्रमा भेला भएर पूर्वराजा शाहलाई स्वागत गर्न सिनामंगलस्थित विमानस्थलको मुख्य गेटतर्फ अगाडि बढ्ने छन् । त्यहाँबाट शाहसँगै र्याली निर्मल निवाससम्म पुग्नेछ ।
पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइँपछि आज दिउँसो काठमाडौं फर्किंदैछन् । राजाको प्रिय बन्ने प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले उनको स्वागतमा काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनको तयारी गरेका छन् ।
त्यसैले भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । साथै सुरक्षाकर्मीहरुलाई हाई अलर्टमा राखिएको छ ।