च्यातिएको ‘प्रचण्डपथ ब्यानर’लाई तन्काएको रिपोर्टरले लेख्यो कमरेड पृथ्वीको चन्दा आतङ्क
शान्ति वार्ताताका डा. बाबुराम भट्टराईले एउटा टोपी लगाउने गर्दथे। निक्कै चर्चित थियो। नेपालमा त्यसलाई बाबुराम टोपी भनिन्थ्यो। म एसएलसीको परिक्षा दिँदै थिएँ।
त्यसबेला विभिन्न विद्यालयको परिक्षा केन्द्र एक हुने गर्दथ्यो। प्रधान कारण थियो– सुरक्षा।
एसएलसी सकिनासाथ मैले त्यो दुई महिना–तीन महिनाको समयलाई खेर फाल्न चाहिँन।
सप्तरीको फत्तेपुरमा मेरा बाबुले खोलेको एउटा आर्ट पसल थियो। म पोत्न र लेख्न सघाउने काममा सुरु भएँ।
यहि क्रममा पत्रकारिताको अफर पनि आयो। म पत्रकारितातिर लम्किएँ। मेरो पहिलो बाइलाइन ‘राजविराज टुडे’ दैनिकमा प्रकाशित भएको थियो।
जीतेन्द्र खड्गा, अवधेश झा, डिल्लिराम खतिवडा, मनोज श्रेष्ठ, देवेन्द्र कार्कीलगायतका पत्रकारहरु जसलाई अहिले पनि दाई भन्छु म, केही अग्रज थिए।
०६१ सालतिर त देवेन्द्र कार्कीले पत्रकारिताको तालिम नै पनि दिनुभयो। अर्का प्रशिक्षकका रुपमा मैले स्मरण गर्ने राजेश झा हो। उहाँसँग पछिल्ला दिनमा सम्पर्कचाहिँ छैन।
खाली म जनआन्दोलनसम्मको पत्रकारिता यात्रा र अहिले मभित्र आएको सोच परिवर्तनको विषयलाई जोड्न चहान्छु।
त्यसबीचमा मैले प्रचण्डपथको च्यातिएको ब्यानर तन्काएको छु।
बसाहा बर्षेडाँडादेखि माथि भोर्लेनी भन्ने ठाउँमा मेरा बुवा सामुदायिक बनको भवन रङ्ग्याउने काममा हुनुहुन्थ्यो।
त्यसबेला अहिलेको जस्तो सवारी पनि चल्ने थिएनन्। साइकलमा नमूना, शनिबारे, बर्षेडाँडा अनि त्यसबाट माथि भोर्लेनीतिर उक्लन पर्दथ्यो।
धेरै भयो गएको छैन अहिले तर जब भोर्लेनी भन्ने सानो बजार जस्तो ठाउँ पुग्न पर्ने हुन्थ्यो एउटा ठाडो उकालो थियो। त्यहाँचाहिँ साइकल डोहोराउने गर्दथें।
बुवालाई रङका सामान र आफूलाई रिपोर्टिङ पनि हुने भएकाले एसएलसीका बेला बुवाले किन्दिनुभएको निलो रङको साइकल चढेर जाने गर्दथें।
त्यहि ठाडो उकालोमाथि एउटा ब्यानर हुन्थ्यो।
‘माक्र्सवाद, लेलिनवाद, माओवाद र प्रचण्डपथ जीन्दावाद’ लेखिएको छ। अनेक पटक जाने क्रममा त्यो ब्यानरतिर मेरा आँखा पुगेकै हुन्थे।
तर निरन्तर आइरहने हावाले ब्यानर च्यातिएछ र प्रचण्डपथ जीन्दावाद लेखेजतिचाहिँ नदेखिँदो रहेछ हावाको बेगसँग उडिरहेको त्यो च्यातिएको तुलको पाटो।
अनि टक्क साइकल रोकें। एउटा ढुङ्गा ब्यानरको च्यातिएको तलतिरको फेरोतिर बाँधेर तन्काइदिएँ।
सायद उँधौली उभौंलीको बेला थियो। रुट त्यहि थियो फर्किने बर्षेडाँडा हुँदै।
त्यहाँ एउटा हाई स्कुल हो की केको ठूलो फिल्ड थियो। त्यो फिल्डमा त्यहि नाच नाचेर उदयपुरको आम्वासी र ठोक्सिलातिरको एउटा कार्यक्रममा निम्तो थियो, रिपोर्टिङको।
उभौंली या उँधौली जे होस् त्यो नाच हेरी त्यहाँ केही संकलन गरी साइकलका पाइडल ठोक्सिलातिर मोडिए।
सार्वजनिक निम्तोमा गएको रिपोर्टले त्यहाँ गज्जबको तथ्य र समाचार फेला पारेको थियो।
त्यसबेला त्यो एरियाका माओवादीका इन्चार्ज या प्रमुख जे भनौं पृथ्वी उपनामका रहेछन्।
तिनको चन्दा लिने तरिका या चन्दा आतङ्क बडो गज्जबको रहेछ। नगद नहुने स्थितिमा गाउँलेले चन्दाका नाममा एक–एक बाख्रा या खसी अथवा बोका दिँदा रहेछन्।
तर गाउँले आजित भैसकेका कारण रिपोर्टरलाई एक जनाले कुनामा लगेर आफ्नो दुखेसो पोखे, ‘हामी यस्तो मर्कामा छौं। क्रान्तिलाई सहयोग भन्दै यसरी चन्दामा हाम्रा चौपाया मागिन्छ। नदिएर धर छैन, नत्र डर मात्र छ।’
मलाई थाहा छैन त्यो पृथ्वी उपनामको मानिस अहिले कुन तहको नेता छ। तर मलाई यत्ति थाहा छ– उसले चन्दाका नाममा गाउँभरीका खसीबोका फिरौतीमा लिन्थ्यो र आफ्नो घरमा बाऊलाई जिम्मा लगाएर बेची खान्थ्यो। त्यो माओवाद र प्रचण्डपथको रिपोर्टिङ गर्न भ्याएको रिपोर्टरले डायरीमा टिपेका तथ्य थिए यी।
केही छुद्र, गणतन्त्रका नाममा हसुर्न, थुपार्न र बेथितिको जग चहानेहरू राजसंस्थाको बिरोध गरिरहेका छन्, अहिले।
०६० सालमा राजाको सैन्य शासनमा सैनिकले काठ तस्करी गरेको समाचार लेख्दा मलाई नै पक्राउ गरिएको थियो। यति मात्र होइन जब युनिफाइड कमान्डको क्याम्पमा लगियो एउटा एमालेको नेता भनिनेलाई पानीमा चोपलेर पैताला फुट्नेगरी हानिरहेको मेरै आँखाले देखेको।
म त्यो अनुभवी रिपोर्टर हुँ कि विद्यालयको फिल्डमा लगेर तँलाई गोली हान्छुसम्म भन्न भ्याए सेनाले।
जनआन्दोलन भयो, त्यसमा सरिक भैयो। गणतन्त्र आउनुअघि मैले तन्काएको तुलका प्रचण्डले भैंसीको पुच्छर समातेर पूजा गरेको समाचार पनि ब्रेक गरियो।
गुरिल्लाहरू वाईसीएल भए। आन्दोलनकारीलाई सडकम मासुभात बाँडे। समाचार बन्यो। गुरिल्लाहरुको शेषन्तर कार्यालय घेर्न पुगे। भोलीपल्ट फेरि तपाईको पत्रिका ल्याउने गाडी आउँछ रे, खनारमा ४० किलो मासु छ ल्याइदिनु पर्यो भन्न थाले। त्यो सहयोग पनि गरियो।
खैर, यो जायज सन्दर्भ किन उठाइयो भने अनेक व्यवस्था देखा परे। व्यवस्थाले जनतामा आशा त पक्कै ल्याउने नै भयो। तर, निराशाको बादल मडारिनेगरी परिवारलाई काखमा राखियो, गरिब र निमुखालाई पाखामा छाडियो।
अब ति पाखा मात्र बाँझा छैनन्, खाडीका पाखा हरित भए तर नेपाली पाखा अहिले जर्जर छन्। यो बनायो कसले? राजाले बनाएको हो?
होइन, यो प्रचण्डपथको आशलाग्दो तुलको महाभूलको परिणाम हो। कोही गुच्चीका ब्याग बोक्ने तर जनताले फुच्चीको भविष्यको रेखा कोर्न नसक्ने तितो यथार्थबाट कोही अलग हुन सक्तैन।
यसर्थ विमानस्थलदेखि निर्मल निवाससम्मको यो ताँती के–को हो? यो निराशको ज्वारभाटा हो। हिजो गरेको गल्तीको पश्चाताप हो। १० बर्षमा सिङ्गापुर बनाउछु भनेर पहिलो अन्तरवार्ता दिने, खुलामञ्चमा गीत गाउने तुलधारीहरु किन आत्तिए? सिंगापुर होइन, सिगानेपुर रहने सुडान बनाए।
यसर्थ, गणतन्त्रको गीत जपेर माला लाएर मात्र परिवर्तनको महशुस हुने रहेछ त? देश भनेको न भुगोल मात्र हो न व्यवस्था मात्र हो। न स्वतन्त्रताका नाममा गाली गर्न पाउने अधिकार हो। देश भनेको जनताको जीवनस्तरमा आउने आश्चर्यजनक परिवर्तन हो।
आज निराश भएका त्यहि लोकप्रिय टोपीधारी बाबुराम भट्टराईहरु फेसबुकका भित्तामा ‘दुई लोभी बिरालो र छट्टु बाँदर’को कथा किन चिप्काइरहेका छन्?
यसको उत्तर खोजीरहेछ रिपोर्टर, खोजीरहेछ देश।