राष्ट्रिय सभामा उठेका विषयबारे जवाफ दिन सरकार र सम्बन्धित मन्त्रीहरूलाई दाहालको आग्रह
काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा उठेका विषयहरूबारे जवाफ दिन सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गरेका छन् ।
आइतबार सभामा शून्य र विशेष समय सकिएपछि अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन् ।
सभाध्यक्ष दाहालले ११५ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा उठेका विषयमा सम्बन्धित मन्त्रीको जवाफ खोजेका छन् । शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना भनाइ राख्ने क्रममा उठाएका विषयहरूबारे जवाफ दिन आग्रह गरेका छन् ।
महिला र बालबालिका, हिंसा, बलात्कार, हत्या लगायतका विषयमा जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीलाई भनेका छन् ।
शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्याबारे उठेका विषयमा जवाफ खोजेका छन् ।
दलित, आदिवासी, जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउँदै दाहालले राष्ट्रिय सभाको नियमावलीले तोकेको समयभित्र सभामा उपस्थित भएर जवाफ दिन आग्रह गरेका हुन् ।
राष्ट्रिय सभा नियमावलीले सभामा आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्र दिनुपर्ने व्यवस्था छ ।
सभाध्यक्ष दाहालले आइतबारको बैठक स्थगित गर्दा अर्को बैठक आगामी ४ चैतमा बस्ने तय गरेका हुन् ।