Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तिम राजा शाहलाई स्वागत गर्दाको भिड चलचित्र ‘माग्ने राजा’ मा देख्न पाइने

आइतबार, फागुन २५, २०८१

काठमाडौं -  अन्तिम राजा ज्ञानेन्द्र शाहलाई आज (आइतबार) काठमाडौंमा स्वागत गर्दा उपस्थित भिड चलचित्रमा हेर्न पाइने भएको छ । केदार घिमिरे (माग्ने बुढा) को शीर्ष अभिनय रहेको चलचित्र ‘माग्ने राजा’ का लागि उक्त भिडको दृश्य खिचिएको हो ।

samridhi jewllers

अन्तिम राजाको स्वागतमा देखिएको भिडलाई ड्रोनसहित ३-४ वटा क्यामेराबाट खिचिएको फिल्मका लेखक सामिप्यराज तिमिल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार फिल्ममा दर्शकको भिड देखाउनु पर्ने भएकाले उक्त दृश्य उपयुक्त लागेपछि खिचिएको हो।

चलचित्रमा धेरै भिड देखाउनु पर्ने भएकाले आयोजकको अनुमतिमै प्रदर्शनकारीको दृश्य खिचिएको फिल्मका लेखक सामीप्यराज तिमल्सेनाले जानकारी दिए । आयोजकबाट स्वीकृतिसहितको पत्र लिएर यो दृश्य खिचिएको हो । खिचिएका दृश्य फिल्मको २ देखि ३ मिनेटसम्म प्रयोग गरिने जनाइएको छ । तर, जुलुसमा खिचिएका पोस्टर र आवाज भने फिल्ममा समावेश हुने छैनन् ।

उनका अनुसार स्वीकृतिपछि एयरपोर्टमा २, गौशालामा २, चाबहिलमा २, गोपिकृष्ण हलदेखि महाराजगन्ज चोकसम्म एक क्यामेराले दृश्य खिचिएको थियो । ‘हाम्रो फिल्ममा क्राउडको सिक्वेन्स छ । त्यसका लागि कुनै पार्टीको नभई राष्ट्रिय झण्डा बोकेको भिडको दृश्य चाहिन्थ्यो ।  अन्तिम राजाको स्वागतमा राष्ट्रिय झण्डा प्रयोग हुने भन्ने थाहा पाएपछि यही माहोलमा खिच्यौं,’ उनले सुनाए । उनले चलचित्रका लागि पूर्वराजा ज्ञानेन्द्र शाहको दृश्य भने कैद नगरिएको जानकारी दिएका छन् । ‘चलचित्रसँग पूर्वराजाको केही सम्बन्ध छैन,’ उनले भने ।

ऋषि लामिछानेको निर्देशन रहेको ‘माग्ने राजा’ यतिबेला धमाधम छायांकन भइरहेको छ । फिल्ममा केदारसहित आर्यन सिग्देल, वर्षा शिवाकोटी, शारदा गिरी, विल्सनविक्रम राई, शिशिर वाङदेल लगायतको अभिनय छ । आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भइरहेको फिल्मका निर्माता मुनाल घिमिरे हुन् । छायांकन नरेन्द्र मैनालीले गरिरहेका छन् । फिल्मको प्रदर्शन मिति आगामी तीजका लागि तय भइसकेको छ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्