इजरायलले गाजामा बन्द गर्यो बिजुली आपूर्ति, कारण यस्तो छ
काठमाडौं - इजरायलले गाजामा बिजुली आपूर्ति बन्द गर्ने बताएको छ ।
उसले बाँकी ५९ बन्धकहरूको रिहाइ चाहेको र यसका लागि हमासमाथि दबाब दिने उद्देश्यले यो कदम चालेको बताएको छ ।
देशका ऊर्जामन्त्री एली कोहेनले इजरायल विद्युत् निगमलाई उक्त क्षेत्रमा बिजुली आपूर्ति बन्द गर्न आदेश दिएको बताए ।
एली कोहेनले भने, “मैले गाजा पट्टीमा तुरुन्तै बिजुली आपूर्ति काट्ने आदेशमा हस्ताक्षर गरेको छु । हामी बन्धकहरूको रिहाइ र गाजाबाट हमासको उन्मुलन सुनिश्चित गर्न उपलब्ध सबै उपायहरू प्रयोग गर्नेछौँ ।”
गत हप्ता इजरायलले गाजामा राहत सामग्री, तेल र अन्य सामग्री बोकेका सवारी साधनहरूको बाटो अवरुद्ध गरेको थियो । उनले पानी आपूर्ति बन्द गर्ने बारेमा पनि सोचिरहेको बताए ।
इजरायलले हमास आफ्नो युद्धविरामको पहिलो चरणको अवधि बढाउन तयार होस् भन्ने चाहेको छ । तर, हमासले युद्धविरामको दोस्रो चरणको वार्ता सुरु होस् भन्ने चाहेको छ । बीबीसी