Nic Ad Nic Ad
Nic Ad Nic Ad

अस्वभाविक रुपले बढ्यो लसुन आयात, सात महिनामै छ अर्ब बढीको लसुन आयात भएपछि खोजी गरिँदै

सोमबार, फागुन २६, २०८१

काठमाडौं - चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा नेपालमा छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको छ । यो देशको आन्तरिक खपतका लागि हो वा यसमा अन्य कुनै कारण छ भन्ने आशङ्का भएको छ । भन्सार विभागले पनि यसलाई अस्वाभाविक आयात भएको उल्लेख गरेको छ ।

samridhi jewllers

पाँच  वर्षअघि आव २०७६/७७ मा ३१ करोडको लसुन आयात भएको नेपालमा यो आवको पहिलो सात महिनामा महिनामा नै छ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको लसुन आयात भएपछि यसको आन्तरिक खोजीमा सरकारी निकाय लागेको छ । यो अवधिमा नौ लाख २० हजार रुपियाँ बराबरको लसुन निर्यात भएको छ । बाँकी रहेको लसुन कहीँ भण्डारण गरेको पनि देखिँदैन ।

 


नेपालमा उपभोक्ताको अलावा चाउचाउ र अचार उद्योगले ठुलो परिणाममा लसुनको प्रयोग गर्ने गरेका छन् ।

नेपाल दक्षिण एसियाली सौविध्यपूर्ण व्यापार व्यवस्था (साफ्टा)को सदस्य राष्ट्र भएकाले विभिन्न देशबाट आयात भएको सामग्री सहजै भारत निर्यात हुने भएकाले नेपालको बाटो हुँदै चीनको लसुन भारत पुगेको अनुमान सरकारी निकायको छ ।

अस्वाभाविक रूपमा लसुन आयात भए पनि त्यसको मूल्य पनि अकासिएको छ । धेरै परिमाण आएको समयमा लसुनको मूल्यमा गिरावट आउनुपर्ने भए पनि त्यो हुन सकेको छैन । कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार एक किलो चिनियाँ लसुनको औसत मूल्य २७० रुपियाँ छ । आम उपभोक्ताले एक किलो लसुनको पाँच सय रुपियाँसम्म तिर्ने बाध्यता रहेको उल्लेख गरेका छन् । वर्षअघिसम्म १५० रुपियाँसम्म मूल्य पुग्ने गरेको थियो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक राजन पौडेलले नेपालमा लसुन आयातमा कुनै बन्देज नभएको र प्रतिबन्धित सामग्रीमा नपर्ने भएकाले नेपालमा सहज आयात र नेपालबाट भारतमा पनि सहजै जान सक्ने सम्भावना रहेको बताए । उनले आयातनिर्यातको पाटोमा भन्सार विभागसँग जिम्मेवारी रहने र आफूहरूले पनि सो विषयमा खोजी गरिरहेको उल्लेख गरे । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले आयातको मात्रा बढेसँगै अनुसन्धान शाखाले त्यसको अध्ययन थालेको उल्लेख गरे ।

नेपालमा वार्षिक १२ हजार मेट्रिक टन लसुन उत्पादन हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ । नेपालमा उत्पादन भएको लसुनप्याजको भण्डारण गर्ने पूर्वाधार छैन । आव २०७९/८० मा नौ हजार ५७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले नेपालमा मासिक एक अर्बको लसुन खपत गर्ने उपभोक्ता नै नभएको र त्यत्रो परिमाणमा आयात गरिएको लसुन कहाँ गयो भनेर हेरिरहेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्