ग्यास भएका ठाउँमा जमिन खन्दा सावधानी अपनाउन आग्रह
काठमाण्डौ – काठमाण्डौ उपत्यकाभित्र मिथेन ग्यास भएका ठाउँहरुमा जमिन खन्दा सावधानी अपनाउन खानी तथा भूगर्भ विभागले आग्रह गरेको छ ।
विभागका उप-महानिर्देशक एवम् प्रवक्ता मोनिका झाले ग्यास भएका ठाउँमा दुई सय मिटरभन्दा धेरै खन्नुपरेमा सावधानी अपनाउन सुझाव दिएका हुन् ।
डिपबोरिङ, कुवा वा अरु कामका लागि जमिन खन्नुपरेमा सलाई, लाइटरजस्ता आगो लाग्ने उपकरण प्रयोग नगर्न उनको सुझाव छ उनले काठमाण्डौ उपत्यकाका विभिन्न १४ ठाउँमा मिथेन ग्यास रहेको जानकारी दिए ।
ग्यास बाहिर निस्कँदा आगोले भेटेमा मात्रै त्यो जोखिमपूर्ण हुने अन्यथा त्यसबाट कुनै असर नपर्ने उनको भनाइ छ ।
यसअघि भएको अध्ययनबाट त्रिपुरेश्वर, टेकु, कुलेश्वर, कालिमाटी, भृकुटीमण्डप,कोटेश्वर, टिकाथली, बालकुमारी, ईमाडोलमा मिथेन ग्यास रहेको पुष्टी भइसकेको छ ।
मिथेन ग्यास वातावरणमैत्री ईन्धन रहेको र यसलाई पेट्रोल र डिजेलको विकल्पको रुपमा प्रयोग गर्न विभागले जनाएको छ ।
अघिल्लो हप्ता ललितपुरको टीकाथलीमा खानेपानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो ।
गोदावरी खोला नजिक स्थानीय खानेपानी आयोजनाका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो लागेपछि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउमा मिथेन ग्यास रहेको विषय बाहिर आएको हो ।
यसअघि २०७९ साउनमा काठमाण्डौको जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको थियो ।
आठ वर्षअघि भक्तपुर पिलागाउँमा पनि डिप बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगलागी भएको थियो ।