चुनावमा केपी ओलीसँग तालमेल गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको स्वीकारोक्ति
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेका अध्यक्ष केपी ओलीसँग चुनावी तालमेल गरेको आरोप लागेकोबारेमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्विकारोक्ति दिएका छन् ।
झापा निर्वाचन क्षेत्र ३ बाट राप्रपाबाट निर्वाचित भएका लिङ्देनले नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई पराजित गरेका थिए । सो निर्वाचनका लागि झापा ५ मा उम्मेदवार रहेका केपी ओलीलाई राप्रपाले भोट हाल्ने तथा झापा ३ मा लिङ्देनलाई एमालेले भोट हाल्ने गरि तालमेल भएको आरोप लाग्दै आएको थियो । तर सो आरोपलाई एमाले तथा राप्रपाका नेताहरूले सार्वजनिकरूपमा अस्विकार गर्दै आएका थिए ।
हिजो आइतबार हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा राजेन्द्र बानियाँले सो सँग सम्बन्धित प्रश्न गरेका थिए । सुरूका प्रश्नहरूलाई टार्दै गए पनि अन्तर्वार्ताकै क्रममा पत्रकार बानियाँलाई तपाईलाई तिनै एमालेले चुनावमा भोट हालेर जिताएका हुन् नि भनेको प्रसंगमा लिङ्देनले जवाफ फर्काउदै 'हामीले पनि त भोट हालेका हौँ नि' भनेका छन् ।
यो स्विकारोक्तिसँगै चुनावमा एमालेका अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले तालमेल गरेको कुरा स्पष्ट भएको छ । यसले सार्वजनिकरूपमा केपी ओलीको रणनीतिमा के कति प्रश्न वा समर्थन आउँछ भन्ने समयले देखाउने छ ।
तर गणतन्त्रको विरोध गर्दै राजतन्त्र चाहने राजेन्द्र लिङ्देनसँग चुनावी तालमेल गरेको, कमल थापालाई सुर्य चुनाव चिन्ह दिएर जिताउन खोजेको र पार्टीमा योगदान गर्ने कार्यकर्तालाई हटाउँदै दुर्गा प्रसाइँलाई केन्द्रीय सदस्य बनाएकोबारेमा भने केपी ओलीको आलोचना सुरू भएको छ ।