Nic Ad Nic Ad
Nic Ad Nic Ad

उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई हराउँदै धरान सेमिफाइनलमा 

सोमबार, फागुन २६, २०८१

झापा- उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ५-३ ले  हराउँदै धरान एफसी मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार काकरभिट्टा खेल मैदानमा निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । 

samridhi jewllers

लगातार दोस्रो दिन मेचीनगर गोल्डकपको नतिजा पेनाल्टी सुटआउटमा निस्केको हो । आइतबार चर्च ब्वाइज युनाइटेडले झापा एफसीलाई सडनडेथमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । 

पेनाल्टी सुटआउटमा धरानका बैकल्पिक गोलकिपर बिपुर मगर नायक बने । पहिलो प्रहार गर्न आएका उज्वेकिस्तानका असिवेक अरिफजोनोभको प्रहार विपुलले रोकेका थिए । प्रशिक्षक हेमकुमार गुरुङले प्रविन लिम्बूको स्थानमा विपुललाई मैदान पठाएका थिए । 

धरानको लागि मिलन राई, सुरज रसाईली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिमीसहित पाँचै खेलाडी सफल भए । ब्ल्याक बुल्सको लागि खुसान गानिजानोभ, अजिजबेक खुर्सिनबोभ र कुभेनच्बेक ओलिमोभ गोल गरेका थिए । 

अब, धरानले फाइनलमा प्रवेशका लागि आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग फागुन २४ मा प्रतिस्पर्धा गर्नेछ । आयोजक काकरभिट्टाले भारतीय टोली जर्जियन एफसीलाई ४–२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । 

यसअघि ब्ल्याक बुल्स एफसीको लागि ५९औं मिनेटमा असिबेक अरिफजोनोभले गोल गरेका थिए । १८ यार्ड बक्स भित्रबाट इस्लोम्जोन अब्दुकोडिरोभले मिलाएको बललाई सिक्स यार्ड बक्समा अनमार्क रहेका असिबेकले हेडर गोल गर्दै अग्रता दिलाएका हुन् । 

खेलमा ८३औं मिनेटमा धरानले बराबरी गोल गर्याे । सुगम जिमीले गोल गरेका हुन् । सुरज रसाइलीले मैदानको बाँया भागबाट मिलाएको पासलाई वैकल्पिक खेलाडी सुगमले सदुपयोग गर्दै टोलीको हार टारेका थिए । 

खेलभर मिलन राईको कप्तानीमा रहेको धरानले केही अवसर बनाएपनि सदुपयोग गर्न सकेन । टोलीमा मिलानसहित विक्रम धिमाल, तपन कार्की, रोमन लिम्बू, मौसम सुब्बा जस्ता खेलाडी समावेश थिए । 

आहा रारा गोल्डकप विजेता ब्ल्याक बुल्सले टिममा नेपालका सान्जियो लिम्बू, सुजात डंगोल र सामिप्य सुवेदीलाई टिममा समावेश गरेको थियो । केपी ओली कपको पहिलो खेलमै पराजित भएपछि टोलीले मेचीनगर गोल्डकप खेलेको हो । 

मंगलबार हुने खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आठ टिम सहभागी प्रतियोगिताको पाँचौं संस्करणको विजेताले १० लाख र उपविजेता टिमले ५ लाख पाउनेछन् । 

झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समितिको प्राविधिक सहयोग रहने प्रतियोगितालाई होटल मेची क्राउन मुख्य प्रायोजक रहेको छ । प्रतियोगिताका सर्वोकृष्ट खेलाडीलाई ५१ हजार, उच्च गोलकर्तालाई २५ हजार तथा उत्कृष्ट गोलकिपर र प्रशिक्षकलाई समान २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’ले ११ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्