असईले धम्क्याएको त्यो १२ को परिक्षा, पदमहरू उता गए मैलेचाहिँ डेरा छाडिन
१२ कक्षाको मुख्य अंग्रेजी विषयमो परिक्षा दिन बिहानै सर्वोदय उच्च माध्यमिक विद्यालय पुगियो।
त्यो स्कुल ठ्याक्कै जयप्रकाश प्रसाद गुप्ताको घरअघि थियो। तर समस्या के थियो भने अघिल्लो दिनको काण्ड।
काण्ड नयाँ थिएन। अचेल बानेश्वरका गल्लीमा कलेजका सानातिना केटाकेटीको जोश देख्दा याद आउँछ।
सम्झाउँछु म– हेर केटाकेटी हो, यो राम्रो होइन। उनीहरु मलाई अंकल भन्छन्। म पनि भन्दिन्छु– अंकल हैन, दाई भनन गाइजच।
मेरो १२ कक्षाको पढाई भने गोबद्र्धन बैरागी उच्च माध्यमिक विद्यालयमा थियो। यसमा पनि एउटा रोचक संयोग छ।
म खासमा कमर्स (व्यवस्थापन) पढ्नका लागि सर्वोदय नै गएको थिएँ। तर, फत्तेपुरको गोबैजमा विद्यार्थी कम भएपछि कसो कसो गरेर मेजर अंग्रेजीको कक्षामा विद्यार्थी कम भएका कारण मास्टर राजु श्रेष्ठले बुवालाई कन्भिन्स गर्नुभएछ।
मलाई साहित्यप्रति रुची थिएन, पढाईमा। तर रातभरी घरमा कविता कोर्ने कथा बुवालाई थाहा थियो।
बुवाले सम्बन्ध कायम राख्नका लागि मलाई डबल फिस तिरेर गोबैजमा मेजर अंग्रेजीको क्लास राखिदिनुभयो।
त्यसमा हामी जम्मा ४ जना। पदम बिस्ट, सुवास राना, अरुण राई र म।
पदम स्कुल चलाइरहेको छ, फत्तेपुरमा। सुवास गाईघाटतिर होटल व्यावसायमा भएको चाल पाएको छु। अरुण कोरियन भाषा पढ्दैथियो, अहिले के गर्छ पत्तो छैन।
पदमसित त कुराकानी भैरहन्छ कहिलेकाहीँ तैपनि। सुवास र अरुणसँग उत्तिसाह्रो हुन्न।
यो आजको कुरा भयो। तर खास कुरोचाहिँ छुरा काण्ड छ।
सर्वोदयमा परिक्षा सायद बैशाखमा थियो। झरी परेका कारण खाल्डाखुल्डीमा पानी जमेको हुन्थ्यो।
त्यो पानी उछिट्याएको विषयमा विवाद बढ्यो।
कर्कलो उन्माद सबैमा हुने नै भयो। कञ्चनपुरका केटाहरुले धम्क्याए। त्यसको बदला लिने जोशमा फत्तेपुरबाट प्रकाशसहितका केटाहरु आएर खै के गरे त्यो पहिल्याउन सकिएन।
तर बन्द्राह भन्ने कञ्चनपुरदेखि एक किलोमिटरको दूरीमा रहेको ठाउँमा प्रकाशलाई कञ्चनपुरका केटाले घेरेर छुरा हानेछन्।
खबर आयो। त्यसबेला मोबाइल थिएन। प्रकाशलाई गाडी नै रिजर्भ गरेर सेनाले अस्पताल लग्यो।
यो प्रकरण थाहा पाउनासाथ प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राख्यो।
फेरि त्यहाँको अर्को प्रसङ्ग उदेक लाग्दो थियो। लगेर फिल्डमा राख्यो। युनिफाइड कमान्ड भएका कारण सेना, प्रहरी र सशस्त्र सँगै रहन्थे।
अब फँसाद सशस्त्रका दुई बन्दुकधारीबीच के विवाद थियो हानाहान भयो। धन्न अरुले छुट्याए।
भोली परिक्षा छ, आज थानाको फिल्डमा ५ बजेसम्म बसिरहेका छौं हामी। यताउती गरेर परिक्षा नरोक्ने हिसाबले हामीलाई प्रहरीले छाड्यो तर चेतावनीसहित।
अस्थायी डेरा लिएका थियौं। त्यो डेराको तस्बिर पनि यहाँ छ। म लुते छु, कतै हराएको जस्तो।
तर साथीहरु आक्रमण हुने त्रासमा सबै बन्द्राह वा अन्यत्र लागेका थिए। म भने त्रसित भए पनि त्यहिँ बसें। जान सकिन्थ्यो तर धर्म छाडिएन। यसको अर्थ, अरुले छाडे भन्ने पनि होइन।
त्यसबेला जसले जे सल्लाह दिन्थ्यो त्यो मान्ने थियो।
अनि कक्षा ११ को परिक्षाका बेला नै बसाहाका साथीहरुसँग मित्रता गाँसिएको थियो। उनीहरुको पनि डेरा थियो। म त्यहाँ पुगें।
म सम्झिन्छु रुक्मिला राईलगायत साथीहरुलाई। उनीहरुको पनि गहिरो कथा छ, त्यतातिरको व्याख्या नगरौं। तर, मलाई उनीहरुको त्यस दिनको साथ नै भगवानभन्दा कम थिएन।
खाना पकाएर खुवाए। म अलिक ट्रमामा नै रहेको थिएँ। कसैले मलाई आक्रमण गर्छ की भनेर एक जना दाईको बाइकमा रुक्मिला, कल्पना अगाडि पछाडि बसेर मलाई डेरासम्म छाडेका थिए।
भोलीपल्ट परिक्षा दिन आउँदा एउटा असईले मलाई चेतावनी दिए। राजाको कालमा असई हैन हल्दार नै काफी हुने थियो। तैपनि पत्रकार थिएँ म। तर अलिक स्टाइलिस, कपाल लामो राख्नुपर्ने खालको।
मेरो जुल्फी समातेर त्यो असईले भन्यो,‘यो कपाल काटी हाल नत्र ठिक हुन्न।’
कपाल त मैले काटीन तर ति असई को थिए, कहाँ छन्? जागिर सिध्याएर रिटायर्ड भए कि, जागिरमै छन्? म बेलामौका त्यो प्रसङ्गमा घोत्लिन्छु। बिगत यतिसम्म पनि थियो।