Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डसँग भेटपछि माधवले भने- गल्ती भए सच्चिन्छौं, निरंकुश शासन चाहिँदैन

सोमबार, फागुन २६, २०८१

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजा फर्काउने भनेर गरिएका गतिविधिहरू अस्वीकार्य रहेको बताएका छन् ।

samridhi jewllers

सोमबार सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

राजतन्त्र फर्काउने भनेर गरिएका गतिविधि अस्वीकार रेहको र इतिहासको रथ अब पछाडि फर्किन नसक्ने नेपालको भनाइ थियो ।

‘यस्तो गतिविधि अस्वीकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन । प्रगति चाहियो, परिवर्तन चाहियो । जनताको हित र कल्याणको शासन चाहियो । त्यो राजाबाट सम्भव छैन,’ नेपालले भने, ‘इतिहासले बताइसकेको छ । २४० वर्षको इतिहासले बताइसकेको छ । फेरि त्यो निरंकुश शासन जनता चाहँदैनन् । हामीले गल्ती गरेका छौं भने हामी सँच्चिनुपर्छ ।’

पोखराको एक हप्ताको बसाईपछि काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न समर्थकहरूको उल्लेख्य उपस्थिति थियो । पूर्वराजा शाहको अभिनन्दनमा जम्मा भएको भिडपछि सोही विषयमा छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरूले पदाधिकारी र सचिवालय बैठक समेत बसेका छन् ।

साथै राजतन्त्रवादी समूहहरुलाई प्रतिगामी शक्तिको संज्ञा दिँदै यस्तो कार्य स्वीकार्य नहुने र गणतन्त्रवादीहरू एकजुट हुनुपर्ने आह्वान समेत गरिसकेका छन् ।

सोही विषयलाई लिएर सिंहदरबारमा पनि दुई नेताहरूबीच छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले जनतालाई प्रगति र परिवर्तन चाहिएको राजाबाट सम्भव नरहेको बताए ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्