गगन थापाबाट लोकतन्त्रमाथि खतरा छ : अमरेशकुमार सिंह
काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली जनता लोकतन्त्रको नाममा चलिरहेको नेतातन्त्रको विरोधमा रहेको बताएका छन् । उनले नेपाली जनता लोकतन्त्रप्रेमी रहेको पनि दाबी पेश गरे । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘आज नेपालमा लोकतन्त्र छैन् । नेतातन्त्र छ । नेताहरुको संरक्षणमा सबै बिचौलिया र भ्रष्टाचारीहरु संरक्षित छन् । म प्रश्न गर्न चाहन्छु–त्रिभुवन विश्वविद्यालयमा रेक्टरको कोठामा राजावादीले गएर कोठा तोडफोड गरेको छ कि कांग्रेस र एमालेका कार्यकर्ता गएर तोडेको छ ? अहिले भर्खरै एउटा महामन्त्रीको उपदेश यो संसदमा सुनिरहेको थिएँ, उहाँ दक्षिण भारतीय फिल्मको शैलीमा २ सय, तीन सय गाडी लिएर कहिले सिमारा पुग्नुहुन्छ, कहिले सिन्धुली पुग्नुहुन्छ, त्यो लोकतन्त्र हो ? विचौलिया, दलाल र तस्करले मात्रै दुई सय गाडीको व्यवस्था गर्न सक्छ, कुनै नेपाली जनताले गर्न सक्दैन् । त्यसकारण लोकतन्त्रको खतरा यस्ता महामन्त्रीबाट छ । खतरा यस्ता दलपतिबाट छ ।’
के जनताले कुलमानलाई दुःख दिन भनेर भनेको छ त ? भनेर पनि उनले प्रश्न गरे । उनले प्रश्न गरे–‘जनताले भनेको छ त त्रिभुवन विश्वविद्यालयको जग्गा कब्जा गर्ने ? जनताले भनेको छ त ललिता निवासको कब्जा गर्ने ? लोकतन्त्रको नाममा जुन १८ वर्ष जसले जसले विभिन्न पदमा गएर लुटेको छ, उनीहरु लोकतन्त्रको रक्षाको लागि फस्टलाईनमा आउनुहोस ।’