Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वको १७ प्रतिशत शहरमामात्र स्वच्छ हावा, नेपालको स्थान कहाँ ?

बुधबार, फागुन २८, २०८१

काठमाडौ - स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयर (IQAir) ले मंगलबार ‘विश्व वायु गुणस्तर रिपोर्ट २०२४’ सार्वजनिक गर्दै विश्वको अधिकांश जनसंख्या प्रदूषित हावामा सास फेर्दै आएको निष्कर्ष निकालेको छ ।

samridhi jewllers

१३८ देशका ४० हजार वायु गुणस्तर निगरानी स्टेशनहरूबाट संकलित डाटाको आधारमा तयार पारिएको रिपोर्टअनुसार चाड, बंगलादेश, पाकिस्तान, कंगो र भारत विश्वका पाँच सबैभन्दा बढी प्रदूषित देशहरु हुन् ।

रिपोर्टमा नेपाललाई विश्वको सातौं सबैभन्दा प्रदूषित देशको रूपमा सूचीकृत गरिएको छ । नेपालमा विश्व स्वास्थ्य संगठनले तोकेको वार्षिक औसत मापदण्डभन्दा ८.६ गुणा बढी प्रदूषित हावा रहेको रिपोर्टमा उल्लेख छ ।

आज मात्रै पनि नेपाल विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा छ । पहिलो स्थानमा भारत छ ।

ओसियानिया सबैभन्दा सफा क्षेत्र

अष्ट्रेलिया, बाहामास, बार्बाडोस, एस्टोनिया, ग्रेनाडा, आइसल्यान्ड र न्यूजिल्यान्ड मात्र विश्व स्वास्थ्य संगठनले तोकेको वार्षिक औसत पीएम २.५ को मापदण्ड पूरा गर्ने देशहरू बनेका छन् ।

यसैबीच, ओसियानियालाई पृथ्वीको सबैभन्दा सफा क्षेत्रको रूपमा सूचीकृत गरिएको छ, जहाँका ५७ प्रतिशत शहरहरू वायु गुणस्तर मापदण्डभित्र छन् ।

भारतका शहरहरू प्रदूषणबाट सबैभन्दा बढी प्रभावित

रिपोर्टअनुसार, विश्वभरका सबैभन्दा बढी प्रदूषित २० शहरहरूमध्ये १३ शहर भारतका रहेका छन् ।

भारतको उत्तरपूर्वी क्षेत्रमा पर्ने बर्नीहाट नामक सानो औद्योगिक नगरलाई विश्वकै सबैभन्दा बढी प्रदूषित महानगरीय क्षेत्रको रूपमा चिनाइएको छ ।

त्यस्तै, दिल्ली निरन्तर विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ ।

अफ्रिकामा निगरानीको अभाव

रिपोर्टले विश्वका धेरै भागहरूमा पर्याप्त निगरानी प्रणाली नभएकाले वास्तविक वायु प्रदूषणको स्तर अझ धेरै हुन सक्ने संकेत गरेको छ ।

विशेष गरी अफ्रिकामा प्रत्येक ३७ लाख व्यक्तिका लागि मात्र एउटा वायु गुणस्तर निगरानी स्टेशन रहेको उल्लेख छ ।

‘विगत १२ महिनामा विभिन्न देश, क्षेत्र तथा भूभागहरूमा वायु गुणस्तर निगरानी विस्तारमा उल्लेखनीय प्रगति भएको छ । तर, अझै पनि धेरै ठाउँमा सरकार–नियन्त्रित नियामक प्रणालीको अभाव देखिन्छ,’ रिपोर्टले जनाएको छ ।

नेपालमा वायु प्रदूषणका मुख्य कारण र नियन्त्र्णका उपाय

धुलो र निर्माण कार्यहरू: काठमाडौं उपत्यकामा सडक विस्तार र निर्माण कार्यहरूका कारण धुलोको मात्रा बढेको छ।

वाहनहरूको धुँवा: पुराना र मर्मत नगरेका सवारीसाधनहरूबाट निस्कने धुँवाले वायु प्रदूषणमा योगदान पुर्‍याउँछ।

औद्योगिक गतिविधिहरू: निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूबाट निस्कने प्रदूषकहरूले वायु गुणस्तरमा नकारात्मक असर पार्छ।

उच्च वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी रोगहरू, हृदय रोग, फोक्सोको क्यान्सर र अन्य स्वास्थ्य समस्याहरूको जोखिम बढ्छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरू बढी प्रभावित हुन सक्छन्। 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्