Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसार घुमिसकेको ‘राजागञ्ज’ को फेरि सेन्सरमा लफडा

बुधबार, फागुन २८, २०८१

काठमाडौं - २०७२ सालको भदौ अन्त्यतिर नेकपा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए ।

samridhi jewllers

धुम्बाराहीस्थित त्यतिबेलाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भनेका थिए, ‘संविधानसभाबाट तराई बाहिरिएको होइन, कोही–कोही बाहिर गएका हुन् । तराई कांग्रेससँग छ, एमालेसँग छ, एमाओवादीसँग छ ।’

ओलीको यो अभिव्यक्तिको भिडियोलाई प्रदर्शन तयारीमा रहेको फिल्म ‘राजागञ्ज’ले फिल्मभित्र पनि समेटेको छ । ओलीको उक्त भाषणको समाचार भिडियो र टेक्स्टमा प्रकाशित भएको थियो ।

सार्वजनिक कार्यक्रममा ओलीले बोलेको उक्त भाषणको दृश्य फिल्मभित्र समेटेकोमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समितिले दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’लाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ ।

जाँच समितिले प्रधानमन्त्री ओलीबाट अनुमति लिएको प्रमाण पेश गर्न समेत भनेको छ ।

‘हामी पत्र लिन प्रधानमन्त्रीकहाँ जाने होइन । हाम्रो भनाइ भिडियो प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । किनभने प्रधानमन्त्रीले सार्वजनिकरुपमा बोलेको कुुरा हो ।

उक्त दृश्य फिल्मबाट हटाउँदा कला मर्ने दीपकको भनाइ छ । ‘त्यो हटाउँदा फिल्म मर्छ, आर्टलाई त मार्नुभएन नि’ दीपकले भने, ‘संसारभर देखाइसकेको फिल्म हो । यत्रो फेस्टिभलमा देखाएको र मिडियाले लेखिसेकको हो । हामी घरमा आएका छौ । घरका दर्शकलाई फिल्म देखाउन चाहन्छौं ।’

उनले सेन्सर बोर्डसँग सहमतिको लागि प्रयास हुने बताए । यसका लागि सेन्सर बोर्डसँग ‘राजागञ्ज’को टीमले भेट्दैछ । केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले बोर्डले दिएका निर्देशनलाई फिल्मले पालना गर्नुपर्ने बताए ।

‘राजागञ्ज’ यसवर्षको भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भैसकेको छ । यो फेस्टिभलमा फिल्मले १० मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको छ । चर्चित मिडिया र क्रिटिकले फिल्मको प्रशंसा गरेका छन् ।

मधेशको परिवेशमा खिचिएको फिल्मले सभासदका छोरासहित २ बच्चा अपहरणमा परेपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजी अप्र्रेसनको कथा भन्छ । आशा मगरातीले शीर्ष भूमिका निर्वाह गरेको फिल्ममा दयाहाङ राई, विजय बराल, निकिता चाण्डक लगायतको अभिनय छ । फिल्म चैत १ गते शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।

 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्