लोकतन्त्रको असली खतरा कोही हो भने वर्तमान सरकार आफैं हो : सोविता गौतम
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नियन्त्रणम्ुखी बाटोमा गइरहेको बताएकी छन् ।
आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अत्याधिक शर्तक, असहिष्णु र उदाउँदै गरेको नयाँ अवाजहरुलाई दमन गर्न उद्दत रहेको बताएकी हुन् ।
नेतृ गौतमले सरकारले जनविश्वास गुमाइसकेको र गम्भीर संकटमा रहेको पनि बताईन् । उनले अहिलेको सङ्कट सरकार आफैंले निम्त्याएको दाबी गरिन् । उनले रास्वपाका सभापति एवं निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि सरकारले कानुनलाई प्रतिशोधको तरबार बनाएको बताईन् । ‘कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरबार बनायो । उदाउँदै गरेका नयाँ शक्ति जो यही गणतन्त्रमा जन्मिए, हुर्किए र लोकतन्त्र जोगाउने पहिलो पंत्तिमा उभिन सक्थे । सरकार उनीहरुलाई नै झुठा मुद्दा लगाएर दमन गरिरह्यो,’– उनले भनिन् ।
सदनमा प्रश्नको जवाफ नदिने, प्रश्न गर्ने सांसदहरुलाई होच्याउने, पत्रकारहरुको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडकहरु कब्जा गर्नेलगायतका काम गरेर सरकार नियन्त्रणमुखी शासनको पक्षमा उभिएको उनको आरोप छ ।
सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गरेपनि जनताको चेतना नियन्त्रण गर्न नसक्ने भन्दै उनले सरकारलाई चेतावनी दिईन् । सरकार लोकतन्त्रको असली खतराको रुपमा देखापरिरहेको उनको भनाइ छ । ‘लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैं हो । सबैको विचार अट्ने व्यवहार गर्नुस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ,’– उनले भनिन् ।