सुमना श्रेष्ठको कांग्रेसमाथिको कुन आरोपले प्रतिनिधि सभामा लफडा भयो?
काठमाडौं– नेपाली कांग्रेसका नेताले सार्वजनिक जग्गा प्रयोग गरेको भन्ने रास्वपा नेत्री सुमना श्रेष्ठको आरोपले बुधबार प्रतिनिधि सभामा लफडा भएको छ।
उनको आरोप सुन्नासाथ कांग्रेसका आधा दर्जन नेताले त्यसको बिरोध गरेका थिए।
सांसद श्रेष्ठको त्यो धारणामा कांग्रेस सांसद राजेन्द्र केसी, राजेन्द्र बजगाईँ, सुशीला थिङलगायत सांसदहरूले आपत्ति जनाएका थिए।
श्रेष्ठले धारणा राखिसक्ने बित्तिकै कांग्रेस सांसद केसी उठेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले ‘माननीयज्यू’ को नियमापत्ति हो भन्दै सोधेका थिए। त्यसपछि कांग्रेसका आधा दर्जन सांसदहरू उठेर विरोध गरे।
सभामुखले माइक नदिए पनि सांसद केसीले बोलेको सुनिएको थियो। उनले प्रतिनिधिसभामा आरोप लगाएपछि त्यसको तथ्य पुष्टि गर्न सक्नुपर्ने बताएका थिए। तथ्य पुष्टि नहुने भए संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए।
प्रतिनिधिसभामा वादविवादमा जाने होइन, आफूले उत्तरदायी र जिम्मेवार तरिकाले राख्नुहुनेछ भन्ने हाम्रो विश्वास छ भन्दै सभामुख घिमिरेले भने,‘सार्वजनिक ढङ्गबाट संसद्को अगाडि तथ्यपरक ढङ्गले राख्नहुन्छ। राख्नुहुनेछ।’
सांसद श्रेष्ठले काठमाडौँ जिल्लाको क्षेत्र नं ६ मा पर्ने तारकेश्वर ९ मा रहेको नेपाल सरकारको जग्गा कित्ता नम्बर ६३ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आएको स्थानीय बासिन्दाको गुनासो रहेको बताएकी थिइन्।