Nic Ad Nic Ad
Nic Ad Nic Ad

आदित्यनाथको तस्बिर बोक्ने राणाको बयानले पुष्टि हुन्छ ज्ञानेन्द्र शाहीको दाबी ‘गलत’

बुधबार, फागुन २८, २०८१

काठमाडौं– पोखराबाट काठमाडौं आउने क्रममा राजधानीको सडकमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसहित उपस्थित थिए प्रदीपविक्रम राणा। 

samridhi jewllers

राणा अहिले भागेर उत्तर प्रदेश पुगेका छन्। आदित्यनाथको तस्बिर सहित र्यालीमा सहभागी भएपछि अनेक प्रकारका टिकाटिप्पणी भए। सो क्रममा राप्रपाका सचेतक रहेका ज्ञानेन्द्र शाहीले र्यालीमा घुसपैठ मात्र भएको दाबी गरेनन् बरु प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले त्यसी मानिस परिचालन गरेको बताए। 

तर राणाले भारतको नवभारत दैनिकमा दिएको बयानले भने शाहीको दाबी गलत भएको छ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सलाई उनले नेपालमा आफूलाई प्रहरीले खोजिरहेको बताएका छन्।

आइतबार (फागुन २५ गते) काठमाडौंमा राजतन्त्रपक्षधरले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा देखिएको पूर्वराजा ज्ञानेन्द्र र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसहितको पोस्टर ‘भाइरल’ भएको थियो।

योगी आदित्यनाथको तस्बिर रहेको ब्यानरमा ‘राज संस्था पुनःस्थापना गरौँ। हिन्दुवादी प्रदीप विक्रम राणा’ लेखिएको थियो। यस्तै पूर्वराजा ज्ञानेन्द्रको तस्बिर रहेको पोस्टरमा पनि राणाको नाम थियो।

प्रदर्शनमा विदेशी नेताको तस्बिर प्रयोग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यसको विरोध गरेको उनको भनाइ छ। आदित्यनाथसँग मिलेर आफूले वर्तमान सरकारविरुद्ध षडयन्त्र गरिरहेको आशंका प्रहरीले गरेको उनले बताएका छन्।

काठमाडौंका ५८ वर्षीय राणाका बुवा नेपाली सेनाका जागिरे थिए। उनी सुरुदेखि नी राजनीतिमा लागेको नवभारत टाइम्सले उल्लेख गरेको छ। राणाकी एक छोरी पाइलट र छोरा डाक्टर छन्।

उनले आफ्नो परिवार सम्पन्न रहेको तर दुःखका साथ लुकेर भागेको बताएका छन्। नेपालमा राजतन्त्र फिर्ता ल्याउने र हिन्दू राष्ट्र बनाउने अभियानमा आफ्नो अन्तिम सास रहँदासम्म लड्ने उनले भनेका छन्।
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार