‘राजागंज’को सेन्सर रोकिएपनि प्रिमियर नरोकिने
काठमाडौँ- यो शुक्रबारबाट प्रदर्शनमा आउने गरी प्रचार गरिएको फिल्म ‘राजागंज’ को सेन्सर रोकिएको छ ।
सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरुमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको निर्देशक दीपक रौनियारले बताएका छन् । यता बुधबार फिल्म प्रिमियरको तयारी गरिएको छ । सेन्सर रोकिएपनि राजागंजको प्रिमियरम भने नरोकिने बुझिएको छ ।
विशेषगरी बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई–तीनटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो । त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको छ ।
निर्देशक रौनियार भन्छन्, ‘हामीले सञ्चार मन्त्रालयबाट अनुमति लिएरै फिल्म बनाएका हौं । प्रधानमन्त्री कार्यालयबाट लिने त होइन । हामीले फिल्ममा एउटा बाइट प्रयोग गरेका छौं । त्यो भिडियो खिचेको मिडियासँग हामीले अनुमति लिएरै फिल्ममा राखेका हौं । त्यो कुरामा सेन्सरले प्रधानमन्त्री कार्यालयबाट पत्र लिएर आउनु भनेको छ । हामी प्रधानमन्त्री कार्यालय चाहिँ कुन आधारले जाने ?’ निर्देशक रौनियारको भनाई छ ।