प्रधानमन्त्री कप क्रिकेटमा कोशीको लगातार तेस्रो हार
काठमाडौं- लुम्बिनीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा कोशी प्रदेशले लगातार तेस्रो हार ब्यहोरेको छ । मधेशसँग १६५ र लुम्बिनीसँग २६ रनले पराजित भएको कोशी आज तेस्रो खेलमा नेपाल पुलिस क्लबसँग १५४ रनले पाखा लागेको हो ।
नेपाल पुलिसले दिएको २८९ रनको विशाल लक्ष्य पछ्याएको कोशी ३६ ओभरमा १३४ रनमा अलआउट भयो । कोशीका लागि सुजन थपलियाले नटआउट ३३ तथा कप्तान अंकित सुवेदीले २१ रन जोडे । साकिव हकले १७ र फिर्दोस अन्सारीले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । कोशीले २२ रन अतिरिक्तमा पाएको थियो ।
कोशीलाई लगातार तेस्रो हार चखाउने क्रममा पुलिसका करण केसीले तीन तथा ललित राजवंशी र कुशल भुर्तेलले समान २ विकेट लिए । सागर ढकाल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि भैरहवा मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन जोडेको थियो ।
पुलिसका लागि कुशल भुतेल र दिलिप नाथले अर्धशतक हिर्काए । ७८ बलको सामना गर्दै ६५ रन जोडेका भुर्तेलले समान २ छक्का र चौका हिर्काए । ६४ बलमा ४ चौका र १ छक्काको मद्दतमा ६१ जना जोडेर नाथ आउट हुँदा अर्जुन साउद र रासिद खानले समान ३८ रन जोडे । दिपेन्द्रसिंह ऐरी ३२ रनमा आउट हुँदा गुल्सन झाले २१ रन जोडे ।
बलिङतर्फ कोशीका भुपाल लुईटेलले तीन तथा प्रकाश कार्कीले दुई विकेट लिए । त्यस्तै फिर्दोस अन्सारी, श्रवन किस्कु र दिपेश कँडेलको नाममा समान १ विकेट रह्यो ।