गगन थापाले भने- भ्रष्टाचारका मुद्दामा संवैधानिक निकायले गरेको अनुसन्धानमा शंका छ
काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संवैधानिक निकायले गरेका अनुसन्धानप्रति आशंकाहरू व्याप्त रहेको बताएका छन् ।
ठूला ठूला भ्रष्टाचारमा अख्तियार, सरकारले गरेको अनुसन्धानमा चित्त बुझ्दैन भने संसदबाट उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन सकिने विकल्प उनले सुनाए ।
‘एकदम विश्वास गर्ने न्यायाधीश वा पूर्वप्रधानन्याधीश ल्याउने हो भने पनि ल्याऔँ । आयोग बनाउने हो भने पनि बनाऔँ,’ महामन्त्री थापाले भने, ‘नेताको सम्पत्ति पनि छानबिन गरौँ । सबै ठूलो ठूलो काण्डको पनि छानबिन गरौँ । त्यो अनुसन्धानमा आमा पर्ला, मामा पर्ला छोडिदिऊँ । गल्ती गर्नेलाई पाता कसेर लैजाऔँ ।’
महामन्त्री थापाले नवलपरासीको सुनवलमा बुधबार आयोजित पार्टी कार्यक्रममा व्यक्तिले गरेको भ्रष्टाचारको भारी पार्टीले बोक्न नसक्ने बताए ।
उनले भने, ‘सिंगो कर्मचारी तन्त्रले भ्रष्टाचार गर्छ त गर्दैन नि । एक जना व्यक्तिले गर्छ नि । सिंगो नेपालका नेताहरुले गर्छन् त । गर्दैनन् नि त । व्यक्तिले गर्छ नि ।’
भ्रष्टाचार कसैले गर्छ भने जिम्मा त्यही स्वयंले लिनुपर्ने र त्यसको भारी काँग्रेसले नबोक्ने बताए ।