किन भइरहेछ रास्वपा भित्रै सुमनाको आलोचना ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नेतृ सुमना श्रेष्ठको आलोचना भइरहेको छ । यो आलोचना खासगरी एक युट्युब भिडियोमा उनले व्यक्त गरेका विचारहरूसँग सम्बन्धित छ, जसमा उनले केही नेताहरूका बारेमा खुलेर प्रतिक्रिया दिएकी छिन् भने केहीलाई 'पास' गरेर टारिदिएकी छिन् ।
पाराडाइम टिभी नामक युट्युब च्यानलमा १९ मिनेट ४२ सेकेन्डको भिडियो अपलोड भएको थियो । सो भिडियोमा विभिन्न कुराकानी भएको थियो । विशेषगरी, ८ मिनेटपछि देखाइने नेताहरूका फोटोहरूमा प्रतिक्रिया दिनुपर्ने खेल चलिरहेको थियो ।
सबैभन्दा पहिला पत्रकार ऋषि धमलाको फोटो देखाइन्छ, जसलाई सुमनाले ‘entertaining’ अर्थात् मनोरञ्जक भनेर व्याख्या गर्छिन् । त्यसपछि सामाजिक अभियन्ता आशिका तामाङको फोटो आउँदा उनलाई ‘ferocious’ अर्थात् एकदमै कडा भनेर चिनाउँछिन् । त्यसपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको फोटो आउँछ, उनले कुनै प्रतिक्रिया नदिई 'पास' गर्छिन् । यसैगरी, जब रास्वपाका पूर्वसभापति रवि लामिछानेको फोटो आउँछ, उनले त्यही ‘पास’ भन्ने शब्द दोहोर्याएर टारिदिन्छिन् । अन्य केही नेताहरूको फोटो आउँदा पनि उनले यही प्रतिक्रिया दिन्छिन् । यहि क्रममा जब काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको फोटो आउँछ, उनले ‘Hope for the youths’ अर्थात् युवाहरूको आशा भनेर व्याख्या गर्छिन् ।
यही घटनाले पार्टीभित्र विवाद जन्माएको देखिन्छ । रवि लामिछाने रास्वपाका संस्थापक सभापति थिए र सुमनाको समानुपातिक सांसद बन्ने अवसर पनि लामिछानेकै कारण सम्भव भएको भन्ने धेरैको धारणा छ । यस्तो अवस्थामा, उनले लामिछानेको फोटोलाई ‘पास’ गरेर टार्नु अपमानजनक भएको भन्दै समर्थकहरूले आलोचना गरिरहेका छन् । पार्टीका केहि नेता तथा कार्यकर्ताहरूलाई सुमनाले बालेन शाहलाई ‘युवाहरूको आशा’ भन्दै गर्दा आफ्नै पार्टीका संस्थापक नेतालाई बेवास्ता गर्नु सही लागेन ।
यस घटनाले रास्वपाभित्र नै सुमनाविरुद्ध असन्तुष्टि चुलिएको देखिन्छ । सामाजिक सञ्जालमा उनीविरुद्ध आलोचनाका पोस्टहरू भइरहेका छन् । कतिपय पार्टी नेताहरूले पनि खुलेर वा सांकेतिक रूपमा असहमति जनाएका छन् । यो घटनाले पार्टीभित्र नेतृत्व र आन्तरिक सम्बन्धबारे नयाँ बहस सुरु गराएको छ ।
के सुमनाले सचेत रूपमा लामिछानेको फोटोलाई ‘पास’ गरिन्, कि यो संयोग मात्र थियो ? के पार्टीभित्र गुटबन्दीको संकेत देखिन थालेको छ ? यी प्रश्नहरू अहिले रास्वपाका कार्यकर्ताहरूबीच चर्चा भइरहेको विषय बनेका छन् ।