नेभिगेशन
विचार

सेना र सशस्त्रले अन्धाधुन्ध गोली चलाउँदा प्रहरीले सटरभित्र छिराएर बचायो 

माघ १३ गते सुरक्षाकर्मीको लाठीको झटारो भेटियो, अनि सुमनसँग गाँसियो मित्रता

मान्छे जब वाक्क हुन्छ उसले विकल्पको रथ पछाडि नै धकाल्छ। अगाडि बढाउनका लागि त हामीमाथि साशन प्रशासन चलाएको ०६२–०६३ले स्थापित गरेको तर विस्थापित हुन नमानेको राजनीतिक पुस्ताले बुझ्नुपर्ने हुन्छ। 

एउटा विज्ञ पुस्ता हुर्कँदै गर्दा इतिहासको रथ सही ट्रयाकमा नचलाइँदिदा ज्ञानेन्द्र शाहीहरू प्रतिस्थापित भएर आउनु नै थियो। 

अहिले अरुका कुरा छाडौं। जनआन्दोलनको ग्राफ तयार हुँदै गरेको त्यो बिस्मृतितिर फर्किन चहान्छु।

दिपशिखाहरू भन्छन् नि! इतिहासको रथ पछाडि फर्किन्न भनेर। जब अगाडि बढाउनका लागि जाम गरिन्छ र एउटा धुन्धुकारी पुस्ताले पुराना नेताको प्रतिमूर्तिलाई भगवान ठान्न थाल्छ, इतिहासको चक्का पछाडि नै सर्छ। 

मैले भन्ने गरेको छु– गाडीले गति लिएन भने रिभर्समा नगई त्यसले सही बाटो समात्न सक्तैन। यदि सही बाटो समात्ने हो भने त्यसको गति सही मार्गमा हुनुपर्ने थियो। भएन र रिभर्सतिर जान खोजिरहेको छ।

खैर, यस विषयमा अन्य च्याप्टरमा तर्कसङ्गत तथ्यसहित बहस हुनेछ। यस तर्कलाई अल्पबिराममा छाडेर त्यो स्मृतितिर फर्किन चहान्छु।

अहिले फर्किएर स्मरणमा ल्याउँदा के उद्देश्यका लागि आन्दोलनको रिपोर्टिङ गर्न कुदिएछ है, भन्ने पनि लाग्छ।

जनआन्दोलनको ग्राफ बनिरहेको थियो। म दोस्रो जनआन्दोलनको एउटा सचेत पुस्ता पनि हो। खासगरी ०६२–०६३ को जनआन्दोलनको ग्राफ बनिरहँदा पत्रकारिताको जोखिम र उन्नत यात्रामा थिएँ।

यहाँ ‘म’ भनेर आत्मकेन्द्रित बन्न खोज्या पक्कै होइन। यसलाई न्यारेटिभको पात्रका रुपमा बुझिदिनका लागि पाठकलाई आग्रह गर्दछु।

यो ०६२ को माघ १३ गतेको कुरा हो।

सक्रिय राजतन्त्रको बिरोध हरेक मोर्चाबाट भैरहेका थिए। सुनसरीको इटहरी केन्द्र कायम राखी पत्रकारितामा सक्रिय रहेको थिएँ। 

यहि क्रममा माघ १३ गते एउटा ठूलो तप्का आन्दोलनमा सक्रिय भयो। सम्भवतः सफल नहुने प्रकारको कुनै चुनावको घोषणा भएको थियो या कुनै सभाको तयारी थियो। 

रिपोर्टिङका क्रममा थियौं। मलाई यत्ति स्मरणमा छ कि त्यो दिन इटहरीको सानो जनताको बाटो (बिराटनगरलाइन)मा प्रहरीले लेखेटेको थियो। उसको लाठी प्रहारबाट म अछुतो हुन सकिन। 

मसँगै पत्रकारिताको सहयात्री सुमन पुरी (हाल प्रेस चौतारी नेपालको कोशी अध्यक्ष निर्वाचित) पनि घाइते भएको थियो। 

त्यसबेला म धरानबाट प्रकाशित हुने ‘मर्निङ टाइम्स’ दैनिकमा कार्यरत रहेको थिएँ भने सुमन बिराटनगरको ‘उद्घोष’ दैनिकको इटहरी संवाददाता थियो। 

हामीसँग त्यसबेला जम्माजम्मी एक एजेन्डा थियो। लोकतन्त्र। हामी सचेत थियौं कि लोकतन्त्र भयो भने प्रेस स्वतन्त्रता हुनेछ। हामी कर्तव्यलाई सरल र सहजीकरणको माध्यम चहान्थ्यौं। इटहरीको त्यो लाठीचार्ज जनआन्दोलनको ग्राफ बढाउने एउटा कारण बन्यो। 

लगातार अनेक दिन आन्दोलन र नारा जुलुस हुन थाले। हामी कहिले गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि हुने सभा त कहिले वीरेन्द्र चौकमा हुने कोणसभामा निरन्तर रिपोर्टिङमा रहने गरेका थियौं। 

त्यसबेला कस्तो थियो भने बिहान ५ बजे उठ्यो अनि अध्ययनका लागि मोरङको बिराटचौक–खोर्साने हुँदै सुकुना बहुमुखि क्याम्पस पुग्यो। ९ बजे क्याम्पस सकेपछि इटहरी फर्कियो र खाना खाएर रिपोर्टिङमा हिँड्यो। 

कम्प्युटर र इमेल त अलिक पछाडि हो। त्यसबेला ताप्लेजुङ कम्युनिकेशन केन्द्रदेखि पाथीभरा मनिट्रान्सफरसम्मबाट समाचार लेख्ने, फ्याक्स गर्ने कामसम्म गरियो। 

यसरी निरन्तर रिपोर्टिङ चलिरहेपछिचैत २४ गते जनआन्दोलनको घोषणा भयो।

आ–आफ्ना ठाउँबाट सबैले सक्रिय राजतन्त्रको अन्त्यको आन्दोलन गरिरहेका थिए। मलाई विवेकपूर्ण हिसाबले नै स्मरण छ कि त्यसबेला गणतन्त्र एजेन्डा थिएन। स्पष्ट खाका थियो– विघटित प्रतिनिधि सभा पुनःस्थापना। 

यहि मेसोमा वैशाखको ८ गतेको राजाको पहिलो सम्बोधन आयो। तर, आन्दोलन रोकिएन। यसको निरन्तरता चलिरहँदा सेनाका बख्तरबन्द गाडीसहित सशस्त्रको ठूलो टोली इटहरी चौकमा परिचालन गरिएको थियो। 

खै कहाँबाट आन्दोलनमा घुसपैठ भयो, प्रहरी र सेनामाथि ढुङ्गा प्रहार भएपछि अन्धाधुन्ध गोली चल्न सुरु भयो। आन्दोलनकारीको मोर्चातिर रहेका हामीलाई इलाका प्रहरी कार्यालयको टोलीले बिराटनगर रोडमा रहेको एउटा सटरभित्र (सीटी मार्केट)मा लगेर राखिदियो। अनि, जोगियो ज्यान।

अहिले परिस्थिति त्यस्तो छैन। अहिले गोली होइन शब्द वाणको झटारा हानिन्छन्। यसपछिका राजनीतिक गतिविधि र पत्रकारिता यात्राका कतिपय संस्मरण छन्। तर, इतिहासको रथ अगाडि किन बढ्न सकेन? यो प्रश्न एउटा प्रश्नवाचक भएर अहिले पनि मानसपटलमा घुमिरहन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विचार