देशमा प्रधानमन्त्रीको नाम समेत उच्चारण गर्न पाइएन : दिपक रौनियार
काठमाडौं - दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ काँटछाँटसहित सेन्सर पास भएको छ । साम्प्रदायिकता झल्किने तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडिएका दृष्य र संवादहरु हटाएर चलचित्रलाई प्रदर्शन अनुमति दिइएको हो ।
यस बिषयलाई लिएर चलचित्रका निर्देशक दीपक रौनियारले देशमा प्रधानमन्त्रीको नाम समेत उच्चारण गर्न नपाएको गुनासो गरेका छन् । उनले लेखेका छन्
सेन्सरबोर्डले फिल्मको टाईटललाई सत्य बनाई दिएको छ। हामी सबै राजा-गंजकै बासिन्दा रहेछौं। “प्रधानमन्त्री” पद पनि उच्चारण गर्न पाईएन।
चलचित्रका निर्देशक रौनियारले चलचित्र अब निर्धारित मितिमै प्रदर्शन हुने निश्चित भएको बताए । तर, थुप्रै दृष्य तथा संवादहरुमा कैंची चलाइएको उनले गुनासो गरे ।
‘प्रधानमन्त्रीको नाम लिइएका सबै संवादहरु हटाइयो’, उनले भने, ‘यो अभिव्यक्ति स्वतन्त्रताको हनन हो ।’
यो चलचित्रले मधेसको राजनीतिक मुद्दालाई बोकेको छ । मधेस आन्दोलनका दृष्यहरु समेत चलचित्रमा समेटिएका छन् । मधेसी-पहाडी जनताबीच दुर्भावना फैलाउन सक्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत लान्छित गरिएका दृष्य-संवादहरु सेन्सर बोर्डले काँटछाँट गर्न लगाएको हो ।
चलचित्रको ट्रेलरमै एउटा विवादित संवाद थियो, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो अभिव्यक्तिलाई तोडमोड गरिएको छ ।
ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा संविधानसभा बहिष्कार गरेर निस्किएका केही मधेसी दललाई कटाक्ष गर्दै ‘झरेको आँप’ को टुक्का प्रयोग गरेका थिए । तर, चलचित्रमा मधेसी जनतालाई नै आँप भनेको सन्देश दिइएपछि सेन्सर बोर्डले आपत्ति जनाएको हो ।
प्रधानमन्त्रीको भाषण चलचित्रमा प्रयोग गर्न उनीसँग अनुमति लिनुपर्ने बोर्डले निर्देशन दिएको थियो । तर, निर्माण पक्षले अनुमति लिन नसकिने बताएका थिए ।
चलचित्रका काटिएका दृष्य र संवादहरुलाई रिप्लेस नगरी खाली नै छोड्ने निर्माण पक्षको भनाइ छ । स्मरणीय रहोस् यो चलचित्रलाई सेन्सर पासबिनै यस वर्षको भेनिस फिल्म फेस्टिबलमा लगेर वर्ल्ड प्रिमियर गरिएको थियो ।