नेभिगेशन
साहित्य

चेक पोस्टमा जब सेनाको हवल्दारले मेरो बुवामाथि अपशव्द बोल्यो अनि म आक्रोशित भएँ 

अनि, उनले मेरो बुवालाई ‘मु...भन्ने लगाए।’

हामी एक दमै सामान्य मान्छे। कुनै हाँई फाँई गर्न नसक्ने। अहिले पनि छैन। 

महिना दिनमा तलब अहिले पनि आएन भने मेरो अफिसका सञ्चालकसँग गुनासो चलिहाल्छ। 

एक हिसाबले म भुईँमान्छे। 

जिम्मेवारीका चाङ छन्। घरमा पैसा तिर्नुपर्ने होला परालका मचाङ छन्।

म नेपाली सेना भन्दिन। शाही नेपाली सेनाको सुबेदारको छोरो। 

प्राविधिक सुबेदार चिन्तामणि ढकाल। 

०५३ सालमा पेन्सनर भएर सामान्य गाउँमा सामान्य हिसाबले गुजारा चलाउनेको छोरो। 

म लेख्दै गर्दा मेरो तोते बोली भएकी छोरी सोध्छे ‘ए’ खै? 

मैले यो ए पनि चार कक्षामा चाल पाएको। तर, पछि समयकाल र परिस्थितीले मेजर अंग्रेजी पढ्न लायक बनायो।

यसको श्रेय म पूरापूर बुवा र राजु श्रेष्ठ नामका मेरा प्लस टुका सरलाई दिन चहान्छु। 

यसपछि सुकुनाका गुरु सर, लिङ्ग्वीस्टिकका एनपी भण्डारी सरलाई पनि दिन चहान्छु। 

साउन्ड र स्ट्रक्चरको वैज्ञानिक ज्ञान एनपी सरले दिनुभयो। लिङ्ग्वीस्टिकसहित पछि साहित्यको जानकारी गुरु सरले। 

गुरु सरलाई धेरैले उडाउँथे। एउटा जान्ने मान्छेको सरल उदाहरण सँधै याद हुन्छ। 

उहाँले अंग्रेजीको क्लासमा साधारण हिसाबले साहित्य बुझाउँदा भनेको अहिले पनि स्मृतिमा छ। 

खै कस–कसलाई उदाहरण दिनुभयो थाहा छैन। तर, मैले चाल पाएको र घत लागेको एउटा लाइन थियो। 

कहिलेकाहीँ सामाजिक सञ्जालमा जिकिर गर्छु। 

ह्वाट इज लिटेरेचर? 

‘आहा! बनमा फूल्यो फूलै फूल बास्ना चल्यो मनैमा’ द्याट इज लिटेरेचर। 

म अलि पछि पुगेंछु। 

तर अघिको कुरा के हो भने एसएलसी सकेसी, बुवासँग म निरन्तर हाम्रो निम्तो आर्ट भन्ने फत्तेपुरको पसलमा बुवासँग जान्थें। 

बुवा एउटा साइकल अनि म अर्को साइकलमा, बुवाले एसएलसी दिने बेला किनिदिनु भएको।

सक्रिय राजा साशनका बेला। गोबद्र्धन बैरागी उच्च माध्यमिक विद्यालय अगाडि सेनाको चेक प्वाइन्ट थियो। 

चेक प्वाइन्टमा साइकल चढेर जान पाइँन्न थियो। डोहोराउनु पर्ने। यहि क्रममा हामी डोहोराएर गए पनि चेक प्वाइन्टमा सेनाका एक हबल्दारले सोधीखोजी गरे। 

यहि क्रममा उम्लँदो रगत, त्यहाँमाथि भर्खर पत्रकारिता सुरु गरेको म। के–के न हुन्छ भनेर उम्लेको प्रश्न सोधें। 

अनि, उनले मेरो बुवालाई ‘मु...भन्ने लगाए।’

म आक्रोशित पनि भएको थिएँ। तर किशोरवयको आक्रोश मात्र सबै चिजको समाधान होइन भन्ने अहिले थाहा हुन्छ। 

जीवनका हरेक यात्रामा अबयब हुन्छन्। त्यसबेला गति थियो, लय थिएन। यतिबेला लय छ, गति कसरी तिव्र पार्ने? यहि प्रश्नमा घोत्लिन्छु यदाकदा। 

जीवन असामान्य छ, यसलाई सामान्य हिसाबले बाँच्दा पनि आफ्नै कथा छन्। आफ्ना ब्यथा छन्। यसपछि कसरी ‘जागृति’ नामको भित्ते पत्रिका सुरु गरियो। अनि कसरी अघि बढियो भन्ने पनि निरन्तर म स्मृति साझा गर्नेछु।

तैपनि मेरो बुवामाथि अपशव्द प्रयोग गर्ने ति हवल्दार कता होलान्? के गर्दै होलान्? जीवित छन् कि युद्धमा कतै कहाँ पुगे? जे भए पनि नेपालको एक सेना हो, उनी संघर्षको मैदानमा अटल रहेको राम्रो, उनको जीवन सहज नै रहेको होस्, यहि त एउटा असल सोच हो। 

हैन र?
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य