सरकारप्रति शेखर कोइरालाको टिप्पणी- विनाश काले विपरीत बुद्धि
काठमाडौं– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकारको कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले सरकारलाई ‘विनाश काले विपरीत बुद्धि’ भन्दै टिप्पणी गरेका हुन्।
उनले सरकारलाई कुशासनको दुष्चक्रमा परेको आरोप लगाउँदै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्रको तीव्र विरोध र गलत तत्वहरूले सडकमा अशान्ति फैलाइरहेको संवेदनशील समयमा सरकारले अर्को ‘दुष्कर्म’ को प्रयास गरेको जिकिर गरेका हुन् ।
उनले ‘पूर्व विशिष्टलाई आजीवन सुविधा’ दिने सरकारको तयारीलाई चौतर्फी विरोधको सामना भइरहेको बताए । उनले सरकारलाई यस्ता काम अघि नबढाउने र दिइएका सुविधाहरू घटाउने आग्रह गरेका छन्।
उनले लेखेका छन्, ‘विनाश काले विपरीत बुद्धिः सरकार कुशासनको दुष्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्कर्मका प्रयासः पूर्वविशिष्टलाई आजीवन सुविधा। यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन। सरकार, यस्ता काम अघि नबढाऊ बरु दिइएको सुविधा पनि घटाऊ।’