कतिपय समाचार जस्ता नलाग्ने खबर, लिलबहादुर दाईसँग इटहरीको सिंगडा खाएको पल
शुक्रबार बिहान एउटा समाचार कोर्दै गर्दा स्मृतिको नयाँ तरङ्गले फेरि पनि मानसपटल हल्लियो।
०६४ तिर हुनुपर्छ, लिलबहादुर क्षत्री दाईसँग मेरो इटहरीमा भेट भएको थियो।
ठ्याक्कै कहाँ भने, अहिले फलफूल जुस बेच्ने ठाउँ बनेको छ। त्यहाँ दुई वटा खाजा पसल थिए।
हिन्दीमा समोसा र नेपालीमा ‘सिंगडा’ भनिने जिनिस निक्कै मिठो पाउने गर्दथ्यो।
राजेश श्रेष्ठको जग्गामा बनेको मार्केट नजिक। अहिले त त्यहाँ सेन्ट्रल मल बनेको छ। कतिपय प्लाजा पनि भन्छन्।
बिहानै खबर लेखें–
मूर्धन्य साहित्यकार लिलबहादुर क्षत्रीको निधन भएको छ।
फागुन २९ गते राति १०ः१० बजे आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा उनको निधन भएको पारिवारिक सदस्य रुद्र बरालले बताए।
सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीमा जन्मिएका उनी ९२ वर्षका थिए।
१६ वर्षको उमेरमा प्रकाशित पहिलो कविता ‘शिवस्तुति’का माध्यमबाट नेपाली साहित्यजगतमा उदाएका उनको पहिलो उपन्यास ‘बसाइँ’ २०१४ सालमा
मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो जुन उपन्यास उनको लेखकीय जीवनकै कोसेढुंगा सावित भयो।
बसाइँको नेपाली फिल्म पनि बनेको छ।
पाठ्यक्रममा समेत रहेको यो उपन्यासको अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद भएको छ भने यस उपन्यासको चलचित्र समेत बनेको छ।
लिलबहादुर क्षत्रीका अनेक कृति छन्। तिनले किर्ति कायम गरेका छन्। तर मेरो प्रिय बसाईँ हो। किन पनि हो भने यसका पात्र, कथा र संयोजन मिठा छन्।
यसले हाम्रो पुस्ता मात्र होइन, हामीअघिको पुस्ताको नेपाली समाजलाई राम्रोसँग कथेको छ।
उनी भारतमा जन्मिए पनि नेपाली समाजसँग रुबरु गरेका मुर्धन्य व्यक्तित्व थिए।
इटहरीको जम्काभेटमा मैले पुस्तकमा देखेको तस्बिर चिनिहालें।
सोधें,‘तपाई लिलबहादुर क्षत्री होइन?’
उनले भने,‘हो, कसरी चिन्नुभयो?’ एकदम साधारण जीवन, असाधारण लेखाई। सामान्य शैली, असामान्य शव्द संयोजनका धनी उहाँलाई इटहरीको बजारमा म अपरिचितले सोधेपछि सायद खुशी हुनुभयो।
मैले प्रस्ताव गरें,‘खाजा खाऊँ दाई?’
‘एक कप चिया’, उहाँको भनाई थियो। तर गफिँदै जाँदा उहाँले इटहरीको समोसा (सिंगडा) पनि चाख्नुभयो।
१५ मिनेट जतिको त्यो समयमा उनले विदा लिने भए र भनें,‘यो समोसा जति मिठो थियो त्योभन्दा मिठो त समय भयो भाई।’
खबर लेख्दै गर्दा आज त्यहि स्मृति ताजा भयो तर मन भारी। शव्द हलुका छन् भावना गह्रुँगो। अलविदा लिलबहादुर दाई।