प्रधानमन्त्री कपमा पुलिस क्लबको लगातार तेस्रो जित
काठमाडौँ- प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ ।
पुलिसले शुक्रबार दाङको देउखुरी क्रिकेट रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा अर्को विभागीय टोली एपीएफ क्लबविरुद्ध दुई विकेटको जित निकालेको हो ।
खेलमा एपीएफले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पुलिसले २६.२ ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो ।
पुलिसको जितमा कुशल भुर्तेलले दुई चौकासहित ३१ रन प्रहार गरे । गुल्सन झाले १२, अर्जुन साउदले ११ र राशिद खानले १० रन जोडे ।
एपीएफमा भुवन कार्कीले तीन विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले समान दुई विकेट लिए । यस्तै, कमलसिंह ऐरीको नाममा एक विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको एपीएफले २७.४ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो ।
एपीएफका सन्दीप जोराले सर्वाधिक २७ रन बनाए । लोकेश बमले २२ रन थप्दा आसिफ शेख र अमर राउटेलाले समान १० रन जोडे ।
एपीएफलाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशीले ६ विकेट लिए । ७.४ ओभर बलिङ गरेका ललितले तीन मेडन फ्याक्दै १८ रन खर्चिए । यस्तै, सागर ढकाल, करण केसी, गुल्सन झा र कुशल भुर्तेलले समान एक विकेट लिए ।
प्रतियोगितामा अपराजित पुलिस तीन खेलबाट ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको एपीएफ तालिकाको तेस्रो स्थानमा छ ।