Nic Ad Nic Ad
Nic Ad Nic Ad

शृङ्खलाबद्द डाँका, लुटपाट गिरोहका मुख्य नाईकेलाई सीआईबीले समात्यो, यस्ता छन् ५ अपराध

शुक्रबार, चैत १, २०८१

काठमाडौं - शृङ्खलाबद्ध डकैती, लुटपाट तथा आपराधिक घटनामा संलग्न गिरोहका मुख्य नाइके बुद्धिमान तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

samridhi jewllers

ललितपुर महानगरपालिका वडा नम्बर १९, लगनखेलबाट पक्राउ परेका ४१ वर्षीय तामाङ सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका-२, कर्थली स्थायी निवासी हुन्। प्रहरीले उनको साथबाट दुई थान मोबाइल र दुई थान सिमकार्ड बरामद गरेको छ।

अनुसन्धानका क्रममा तामाङ विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुलेको छ। सन् २०६१ मा डलर ठगीसम्बन्धी कसुरमा काठमाडौँ प्रहरी परिसरमा मुद्दा दर्ता भई फरार रहेका उनी, सन् २०६२ मा ललितपुर प्रहरी परिसरमा डाँका चोरी मुद्दामा दोषी ठहर भई ६ वर्षको सजाय भुक्तान गरिसकेका थिए। साथै, सन् २०७८ मा बाह्रबिसे इलाका प्रहरी कार्यालयमा शान्ति सुव्यवस्था तथा नैतिकता विरूद्धको कसुरमा मुद्दा दर्ता भई सजाय भुक्तान गरिसकेको तथ्य सार्वजनिक भएको छ ।

यस्ता छन् बुद्धिमान तामाङको योजना तथा  संलग्नता घटित अपराधिक घटनाहरु 
१. कर्तव्य ज्यान (गुल्मी)
मिति २०७९/१०/१४ गते रातको अं.२३:३० बजेको समयमा जिल्ला बाग्लुङ बडिगाड गा.पा. वडा नं. ३ सिसाखानी घर भई हाल जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडा नं. ७ न्वारा स्थित कृष्णहरी सापकोटाको घर भाडामा गंगा नामको होटल संञ्चालन गरि बस्ने बर्ष ५८ की गंगा भन्ने गोपाल कुमारी शेरचनलाई निजकै होटलमा हात, खुट्टा र मुखमा कार्टुन टेपले बाधी गर- गहना र नगद लुटी हत्या गरी फरार रहेको घटना ।

२. डाँका चोरी (काभ्रेपलाञ्चोक, फस्कोट)
मिति २०७९/०७/२७ गते अ.१९:०० बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा नं. ९ फस्कोटमा बिक्रम तामाङको श्रीमती बेली तामाङ आफ्नो घरमा बसि रहेको अवस्थामा भोटमाग्न आएका मानिसहरू हौं भनि घर बाहिर बोलाई निज बुद्धिमान तामाङ सहित ४ (चार) जना पुरूष मनिसहरू घर भित्र कोठामा पसि धारिलो हतियारले प्रहार गरि डोरीले बाँधी नगद ,गहना समेत डाँका गरेको । (निज बुद्धिमान तामाङ सहित ४ जनाको संलग्नता ।)

३. डाँका चोरी (काभ्रेपलाञ्चोक, चौकोट)
मिति २०८१/०४/३१ गते राती अ. १२:०० बजेको समयमा जिल्ला काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं. ५ चौकोट स्थित रहेको ग्रिन हिल नेवा खाजा तथा खाना घरमा निज बुद्धिमान तामाङ सहित तिन जना कालो नकाप लगाई उक्त होटल संचालक धर्म गोपाल श्रेष्ठलाई धारीलो हतियार देखाई नगद.रु. ४० हजार नगद लुटपाट गरेको । (बुद्धिमान तामाङ र निजको सहोदर दाई विर बहादुर तामाङ सहित ३ जनाको संलग्नता)

४. डाँका चोरी (काभ्रेपलाञ्चोक, टनचोक)
मिति २०८१/१०/०४ गते  राती अ. २४:०० बजेको समयमा जिल्ला काभ्रेपलान्चोक, बनेपा न.पा.३ टनचोक डाँडामा बस्ने वर्ष ३२ को लोप्चन लामाको घरमा निज बुद्धिमान तामाङ सहित ४ जना, मुखमा माक्स लगाइ आएका व्यक्तिहरु घर भित्र प्रवेश गरी धारिलो हतियार दराज भित्र रहेको मोवाईल थान-३, नगद, गर-गहना र धनमाल लुटपाट गरेको । (बुद्धिमान तामाङ र निजको सहोदर दाई विर बहादुर तामाङ सहित ४ जनाको संलग्नता)

५ . डाँका चोरी (काभ्रेपलाञ्चोक, रेडक्रस टोल)
मिति २०८१/१०/१३ गते राती अ. ०१:०० बजेको समयमा जिल्ला काभ्रेपलान्चोक, बनेपा न.पा. ४ रेडक्रस टोलमा बस्ने अन्दाजी वर्ष ३० को सुकान्त बम्जनको १ तल्ले पक्कि घरमा सेतो माक्स, कालो टोपी, कालो कपडा लगाई घर भित्र प्रवेश गरी धारिलो हतियार देखाइ सुनको गरगहना तथा नगद धनमाल लुटपाट गरेको । (बुद्धिमान तामाङ र निजको सहोदर दाई विर बहादुर तामाङ सहित ४ जनाको संलग्नता)

यस घटनामा संलग्न रहेका बुद्धिमान तामाङका सहोदर दाजु विर बहादुर तामाङ, उदयपुरका राजु कुमार दनुवार र ओखलढुंगाका महेश कुमार खड्कालाई विभिन्न मितिमा पक्राउ गरी सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।

यसैबीच, बुद्धिमान तामाङका कान्छा भाइ शिव कुमार तामाङ गुल्मी हत्या प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेको खुलेको छ। पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार