राजेन्द्र लिङ्देनले भने- देश परिवर्तनको संघारमा छ, कसैले रोकेर रोकिँदैन
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र प्रजातन्त्र एक अर्काको विरोधी नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरूले भ्रम सिर्जना गरेको आरोप लगाए ।
‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले मिडियालाई म के आग्रह गर्न चाहन्छु भने राजसंस्था एक अर्काको विकल्प र विरोधी होइनन्,’ लिङ्देनले भने, ‘राजसंस्था र प्रजातन्त्रसँगै जान सक्छ, राजा र प्रजातन्त्रसँगै जान सक्छ ।’
सबैभन्दा माथि देश र देशभन्दा माथि केही नभएको बताउँदै उनले अहिले परिवर्तनको संघार भएको जिकिर गरे ।
‘देश परिवर्तनको संघारमा पुगेको छ । अब यो एक दुई जना कसैले रोकेर रोकिने अवस्थामा छैन,’ लिङ्देनले भने, ‘त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर अहिले आउनु खोजी राखेका परिवर्तनलाई जनताको भावनालाई अदेखा गर्ने र दुर्घटनातर्फ लैजाने काम हामी कसैले गर्नु हुँदैन । यो परिवर्तन रोकिनेवाला छैन ।’