Nic Ad Nic Ad
Nic Ad Nic Ad

आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण सुरु

शुक्रबार, चैत १, २०८१

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तयारी थालेको छ । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ ।

samridhi jewllers

आगामी आवको नीति तथा कार्यक्रमका लागि मन्त्रालयहरूले आ–आफ्ना कार्यक्रम तथा योजना बनाइरहेको अर्थ मन्त्रालयले जनाएको छ । सोही क्रममा अर्थ मन्त्रालयले समेत नीति तथा कार्यक्रमको गृहकार्य थालेको जनाएको छ ।

अर्थले कोरेको प्रारम्भिक खाका अनुसार अनौपचारिक क्षेत्रका आर्थिक गतिविधि औपचारिकीकरण गर्न अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा घटाउँदै लैजाने कार्यक्रम प्रस्ताव गर्ने जनाइएको छ । जसअनुसार अनौपचारिक अर्थतन्त्र औपचारिकीकरण गर्ने सम्बन्धमा विस्तृत अध्ययन गर्ने उल्लेख छ ।

अर्थ मन्त्रालयले एक वर्षभित्र नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउने गरी कार्यविधि तर्जुमा र कार्यान्वयन गर्ने प्रस्तावसहित आगामी आवको नीति तथा कार्यक्रमको तयारी गरेको हो ।

कार्य योजनाको प्रभावकारी कार्यान्वयन गरी ग्रे लिस्टबाट बाहिर ल्याउने तयारी अर्थको छ । अर्थले तीन तहका सरकार संघ, प्रदेश र स्थानीय तहको आर्थिक क्रियाकलापलाई दिशानिर्देश गर्न छाता नीतिका रूपमा संघीय आर्थिक नीति तर्जुमा गर्ने प्रस्ताव समेत गर्ने भएको छ । चैत २०८२ सम्म यस्तो नीति तर्जुमा गरिसक्ने उल्लेख छ ।

प्रस्तावित नीति तथा कार्यक्रम अनुसार मौद्रिक नीति र वित्त नीतिबीच सामञ्जस्य कायम गर्न विशेषज्ञ सम्मिलित एक ‘थिंक ट्यांक’ गठन गरिने छ । यसलाई साउन २०८२ भित्र गठन गरिसक्ने समयसीमा राखिने छ ।

राष्ट्रिय बचत नीति तर्जुमा गर्ने पनि प्रस्तावमा उल्लेख छ । घरपरिवार र व्यावसायिक क्षेत्रको बचतलाई प्रोत्साहन गरी कुल गार्हस्थ्य बचत अभिवृद्धि गर्दै लगानीयोग्य पुँजीको सुनिश्चितताका लागि राष्ट्रिय बचत नीति तर्जुमा गर्ने प्रस्ताव समेत अर्थको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार