सत्ताको आडमा स्ववियु चुनावमा विद्यार्थी संगठनको अराजकता, ठुला क्याम्पसमा विवाद बढ्दो
काठमाडौ - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा क्याम्पसहरू अशान्त बन्दै गएका छन् । विशेषगरी सत्तारूढ दलनिकट विद्यार्थी संगठनहरूको
गतिविधिले क्याम्पसमा तोडफोड, अवरोध र झडपका घटना बढेका छन् । तर, यस्ता घटनामा प्रहरी भने निरीह देखिएको छ । शुक्रबार मात्र ताहाचललगायत कलेजमा झडप भएका थिए ।
ठुला राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनहरूबिच तनावका कारण विभिन्न क्याम्पसमा निर्वाचन प्रक्रिया नै अन्योलमा परेको छ ।
विशेषगरी कांग्रेसनिकट नेविसंघ र एमालेनिकट अनेरास्ववियुबिचको प्रतिस्पर्धाले स्थिति जटिल बनाएको छ । सत्तापक्षको भ्रातृ संगठनका विद्यार्थीले तोडफोड गर्दासमेत प्रहरीले ठोस कारबाही गर्न सकेको छैन ।
हाल काठमाडौंमा त्रिवि केन्द्रीय क्याम्पस र शंकरदेवसहित आठवटा क्याम्पसमा तालाबन्दी छ । विश्वभाषा, एनआर कलेज, ग्रामीण आदर्श कलेज, पब्लिक युथ क्याम्पस, पिपुल्स क्याम्पस, सरस्वती बहुमुखी क्याम्पसमा तालाबन्दी छ । यी क्याम्पसमा उम्मेदवारी दर्ता समाप्त भइसकेको छ ।
त्यस्तै, विवाद हुँदा काठमाडौंका अन्य पाँच क्याम्पसमा उम्मेदवारी नै दर्ता हुन सकेको छैन । जसमा आयुर्वेद क्याम्पस कीर्तिपुर, कोटेश्वर बहुमुखी क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस, पद्मकन्या क्याम्पस, पशुपति बहुमुखी क्याम्पस, कैलाशकुट बहुमुखी क्याम्पस र काठमाडौं शिक्षा क्याम्पस छन् ।
त्यस्तै, दल दर्ता नभएका क्याम्पसहरूमा गान्धी आदर्श मावि, नेपाल ल क्याम्पस, जनमैत्री बहुमुखी क्याम्पस, एडभान्स इन्जिनियरिङ कलेज छन् । त्यस्तै, विद्यार्थी संख्या कम नभएर चुनाव नहुने अवस्थामा काठमाडौंका दुई क्याम्पस छन् । जसमा बौद्ध बहुमुखी क्याम्पस र ब्रिलियन्ट क्याम्पस रहेका छन् ।
ठुला क्याम्पसमा विवाद बढ्दो
शंकरदेव क्याम्पसमा मंगलबारदेखिको तालाबन्दी अझै खुलेको छैन । यहाँ तीन विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । मतदाता फर्जी बनाएको भन्दै विद्यार्थी संगठनबिच तनाव भएको थियो । तर, २७ फागुनदेखि तालाबन्दी गरिए पनि चुनाव नै अनिश्चित बनेको छ । एमालेनिकट अनेरास्ववियु, माओवादीनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले यहाँ तालाबन्दी गरेका छन् ।
क्याम्पसका स्ववियु अध्यक्ष सुशान्त बस्नेतमाथि अन्य विद्यार्थीले आरोप लगाउँदै तालाबन्दी गरेका हुन् । बस्नेतले कोष दुरुपयोग गरेर विद्यार्थी भर्ना गरेर षड्यन्त्र गरेको विद्यार्थी नेताहरूको दाबी छ । उनीहरूले चार सयभन्दा बढी फर्जी विद्यार्थी भर्ना गरेको आरोप लगाएका छन् ।
केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघले लगाएको ताला अझै खुल्न सकेको छैन । गत बुधबार नेविसंघकका असन्तुष्ट पक्षले तालाबन्दी गरेका थिए । ताला खोल्नुपर्ने भन्दै अनेरास्ववियुले त्रिवि उपकुलपति कार्यालयको ध्यानाकर्षणसमेत गराएको छ । नेविसंघमा उम्मेदवारी विवाद हुँदा सोही पक्षका विद्यार्थी नेताले तालाबन्दी गरेका छन् ।
गत २३ फागुनमा नेविसंघका नेतासहिका विद्यार्थीले त्रिविका रेक्टर डा. खड्ग केसीको कार्यकक्ष तोडफोड गरेका थिए । सो घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
लैनचौरमा रहेको सरस्वती बहुमुखी क्याम्पसमा पनि चुनावी प्रक्रिया अवरोध छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियूले मतदाता र उम्मेदवारी दर्ता समयमै नआएको भन्दै अवरोध गरेको हो । हाल निर्वाचन समितिले नै यहाँ मनोनयन प्रक्रिया रोकेको छ ।
पब्लिक युथ क्याम्पसमा अखिल क्रान्तिकारीले अवरोध गरेको छ । नेविसंघ र अनेरास्ववियुले नक्कली मतदाता खडा गरेको भन्दै उसले क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको छ ।
विश्वभाषा क्याम्पसमा पनि अखिल क्रान्तिकारी र नेविसंघबिचको विवादका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । यहाँ निर्वाचन समितिले स्थिति असामान्य भएको भन्दै निर्वाचन प्रक्रिया रोकेको छ ।
थापाथली इन्जिनियरिङ क्याम्पसमा उम्मेदवारी दर्ता गराउने समय मंगलबार २ बजेसम्म तोकिएको थियो । तर, अन्य क्याम्पसमा ४ बजेसम्म तोकिएको थियो । अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै अवरोध गरिरहेको छ ।
कालीमाटीको एडभान्स इन्जिनियरिङ क्याम्पसमा पनि तोडफोड भएको छ । क्याम्पसको कुर्सी, झ्यालढोका तोडेफोड गरेको भन्दै तीनजनालाई प्रहरीले प्रहरीले पक्राउ गरेको छ । यद्यपि, शुक्रबार साँझ भने तालाबन्दी खोलिएको छ । पक्राउ पर्ने तीनजना एमालेनिकट अनेरास्ववियुका विद्यार्थी नेता हुन् ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा तनाव उत्पन्न भएको छ । चुनावको विषयलाई लिएर विद्यार्थी तोडफोडमा उत्रिन थालेपछि प्रहरीले त्यसहाँका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । नेविसंघका कार्यकर्ताले त्यहाँ तीनवटा कुर्सी तोडफोड गरेका छन् । संगठनले उठाएको उम्मेदवारमाथि असन्तुष्टि जनाउँदै इतर पक्षले विरोध गरेको हो ।
विद्यार्थी संगठनबिच सुर्खेत बहुमुखी क्याम्पसमा पनि लफडा भएको छ । यहाँ पनि विद्यार्थी नेताहरूले तोडफोड गरेका छन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुनिकट विद्यार्थीले बुधबार बेलुकी नै क्याम्पसको झ्यालढोका र फनिर्चर तोडफोड गरेका थिए । तर, प्रहरीले भने उक्त तोडफोडमा संलग्नलाई पक्राउ नै गरेको छैन । यहाँ अनेरास्ववियुकै अर्को पक्षले विवाद गर्दा तोडफोड भएको हो । विवाद भए पनि निर्वाचनको कार्यक्रम स्थगित भएको छ ।
रुपन्देहीका दुई ठुला क्याम्पस बुटवल र भैरहवा बहुमुखी क्याम्पसमा पनि तालाबन्दीका कारण निर्वाचन प्रक्रिया रोकिएको छ । पाँच विद्यार्थी संगठनले १८ फागुनमा निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । क्याम्पसमा तोडफोड पनि भएको थियो । त्यस्तै, क्याम्पस प्रशासन र निर्वाचन समितिले अपारदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी संगठनले २५ फागुनमा बुटवल क्याम्पस, निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । यहाँ पनि निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने देखिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले प्रहरीले तोडफोड गर्नेलाई उजुरीका आधारमा पक्राउ गरेको बताए । ‘प्रहरीले झडप देखेको अवस्थामा त्यहीँबाट प्रक्राउ गर्छ, तर कतिपय केसमा चाहिँ उजुरी नपाएकाले पनि पक्राउ नगरिएको हो,’ उनले भने, ‘आवश्यकता हेरेर सुरक्षा कडा पारेका छौँ ।’ उनका अनुसार विवाद भएका क्याम्पसहरूमा बिहानैदेखि रातिसम्म प्रहरी परिचालन गरिएको छ ।
संगठनले साथ नदिएपछि केन्द्रीय क्याम्पसमा स्वतन्त्र रूपमा भोट माग्दै भुसाल
सबैभन्दा धेरै विद्यार्थीको आकर्षण रहेको विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा सभापतिका लागि यसपटक १७ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये एकजना मात्रै महिला उम्मेदवार छिन् ।
दुई वर्षअघि भएको स्ववियु निर्वाचनमा ठूलो मतान्तरले कोषाध्यक्ष जितेको पद्मा भुसाल अहिले सभापतिको प्रत्याशी बनेकी हुन् । यस क्याम्पसमा स्ववियु जित्नु सबैजसो विद्यार्थी संगठनका लागि प्रतिष्ठाको विषयसमेत बन्ने गर्छ ।
निर्वाचन मितिअनुसार उम्मेदवारी फिर्ता लिने समय शुक्रबार साँझ ५ बजेसम्मलाई थियो । तर, उनी एक्लै भए पनि चुनाव लड्ने आँटसहित प्रचारप्रसारमा लागेकी छिन् । यसअघि नेविसंघका तर्फबाट कोषाध्यक्षमा उठेर ४२८ मतान्तरले जितेकी उनले यसपटक भने संगठनसँग विद्रोह गर्दै उनले सभापतिमा उम्मेदवार दिइन् ।
आफू दाबेदार हुँदाहुँदै पनि संगठनले बेवास्ता गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताइन् । ‘विगतको अनुभव र योग्यताका हिसाबले पनि उम्मेदवारी दिएकी छु, संगठनले न्याय नगरेपछि स्वतन्त्र उठेकी हुँ,’ उनले भनिन्, ‘यसअघिको मेरो भूमिका पनि राम्रै थियो, सोही कारण चुनावी माहोल राम्रो छ ।’
उनका अनुसार यो क्याम्पसमा विद्यार्थी संख्या धेरै छ भने यहाँ मतदान गर्नेहरू अन्य क्याम्पसका भन्दा फरक हुन्छन् । केन्द्रीय क्याम्पसमा पढ्नेहरू बढी जिम्मेवार र परिवर्तन गर्न खोज्ने किसिमका विद्यार्थी भएकाले आफूले जित हात पार्ने भुसालको दाबी छ ।
बायोटेक्नोलोजीमा एमएसी गरेकी उनी हाल त्रिविमा नै ग्रामीण विकास अध्ययन गरिरहेकी छिन् । उनले आफूले जित्ने आधार विगतको अनुभव र विद्यार्थीका समस्यालाई एजेन्डा बनाएकी छिन् ।
‘विगतदेखि नै विद्यार्थीका समस्या बुझ्दै आएकी छु र अब पनि मैले उठाउने भनेको विद्यार्थीकै मुद्दा नै हुन्,’ उनले भनिन्, ‘अबको त्रिविको पढाइ बजारको मागअनुसारको हुनुपर्छ, त्रिवि २४सैँ घण्टा सुरक्षित हुुनुपर्छ, छात्रावासको व्यवस्था हुनुपर्छ, प्रविधिमैत्री र समयसापेक्ष हुनुपर्छ । मैले चुनाव जितेँ भने विद्यार्थीका समस्या समाधानमा तत्पर हुनेछु ।’
यस क्याम्पसमा यसअघि कुनै पनि निर्वाचनमा महिना उम्मेदवारले सभापति जितेका छैनन् । यद्यपि, अन्य पदमा समावेशीका रूपमा भने महिलालाई अघि सार्ने गरिएको छ । ०६५ मा भएको स्ववियु चुनावमा मानुषी यमीले सचिव पद जितेकी थिइन् ।
१७ जना उम्मेदवार, नेविसंघबाट मात्रै ६ जना
६ हजार एक सय मतदाता रहेको केन्द्रीय क्याम्पसमा सभापतिका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये ६ जना नेविसंघबाट छन् । नेविसंघले आफ्नो आधिकारिक उम्मेदवार दीपकराज जोशीलाई बनाएको छ । तर, संगठनका अन्य व्यक्तिले धमाधम बागी उम्मेदवारी दिएका थिए । जसमा पद्मा भुसाल, सनम वली, अक्कल रानाभाट, अनुष कार्की, नरेन्द्र साउद छन् ।
यसबाहेक अध्यक्षमा अखिल क्रान्तिकारीबाट प्रवीण दाहाल, अनेरास्ववियु क्रान्तिकारीबाट भुवन तिमिल्सेना, अनेरास्ववियुबाट सिद्धान्त भट्ट, स्वतन्त्रबाट उज्वलबहादुर खड्का, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट विलम सुवाल, सुधारवादी विद्यार्थी संघबाट मिलन तामाङ, अखिल क्रान्तिकारी बहुमतबाट राजन साउद, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट सुनील गुरुङ, स्वतन्त्रबाट दिप्रसन केसी, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की र नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महराले उम्मेदवारी दिएका छन् ।
ठुला संगठनले दिँदैनन् महिलालाई स्थान
यसपटकको निर्वाचनमा बानेश्वर बहुमखी क्याम्पस, मेची बहुमुखी क्याम्पस, धौलागिरि बहुमुखी क्याम्पसलगायतमा सभापतिका लागि महिलाले उम्मेदवार दिएका छन् । नेविसंघका प्रवक्ता सुरज सेजुवालले उपत्यकामा महिला उम्मेदवारहरू निकै कम भएको बताए । उनका अनुसार पद्मकन्या क्याम्पसबाहेक अन्यमा महिला उम्मेदवार छैनन् ।
उपत्यकाबाहिर धौलागिरि बहुमुख क्याम्पस, पृथ्वी क्याम्पस पोखरा, मेची क्याम्पसमा नेविसंघले महिला उम्मेदवार अघि सारेको छ । त्यस्तै, नर्सिङ क्याम्पस विराटनगर, नेपालगन्ज नर्सिङ क्याम्पसलगायतमा स्वतः महिला उम्मेदवार हुने व्यवस्था छ । त्यस्तै, एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले महिलालाई सभापतिको उम्मेदवारमा प्राथमिकता दिएको पाइँदैन ।
अनेरास्ववियुका महासचिव नरेश रोकायाले निकै कम महिला उम्मेदवार बनाइएको बताए । उनका अनुसार कोटेश्वर बहुमुखी क्याम्पस शर्मिला भण्डारीलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै, सिन्धुली, सिन्धुपाल्चोक, पाल्पा, बागलुङका एक–एकवटा क्याम्पसमा महिला उम्मेदवार बनाइएको छ । अखिल क्रान्तिकारीले उपत्यकाभित्र थापाथलीमा प्रणा भण्डारीलाई अघि सारेको छ ।
उपत्यकाबाहिर आठ–नौजना महिला उम्मेदवार अघि सारिएको सो संगठनका नेताहरूले जनाएका छन् ।