प्रचण्डले भैंसीको पुच्छर समातेर पूजा गरे, ज्योतिषले बाबुरामसँग सम्बन्धको कुन्डली हेरिदिए
ज्योतिषले हेरेको त्यो कुन्डली ठिक थियो भन्ने लागेर आउँछ अचेल।
युद्धको रापताप हुँदै शान्ति प्रक्रियाबाट सत्ताको बागडोरसम्म पुगेको एकीकृत नेकपा माओवादी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यसबेला नै विवादको ठूलो चरणमा प्रवेश गरेका थिए।
हिन्दू राष्ट्रवाद बिरोधी अभियान र धर्म निरपेक्षताको जोडतोडको आवाज उठाइरहेका प्रचण्ड चतरामा आयोजित ठूलो स्नान कार्यक्रमको प्रमुख अतिथि थिए।
कृष्णदासजी महाराज भनिने व्यक्ति भर्खरै त्यहाँ पुगेका थिए। उनको आयोजनामा नै त्यो स्नान कार्यक्रम तय भएको थियो।
हामी खासमा एउटा क्रान्तिकारी नेता जसको असोचनिय उदय र शान्ति प्रक्रियामा प्रवेश भएको थियो तिनको भाषणको समाचार तयार पार्नका लागि पुगेका थियौं।
आयोजकले एउटा गाडी पठाइदिएका थिए र इटहरीबाट भएभरका समाचारदाता, संवाददाता त्यसैमा गएका थियौं।
मलाई स्मरण छ पत्रकार दाई याम प्रधानको नेतृत्वमा हामी झन्डै ७ जना जति चतरा पुगेका थियौं।
कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड आए। नदीकिनारमा ब्राम्हणले जसो भने त्यसै गरिदिए। तर खासमा त्यो ठूलो समाचार बन्छ भन्ने न उनले सोचेका थिए, न मैले नै हेक्का राखेको रहेछु।
अहिले सम्झिएर आउँदा यस्तो लाग्छ– समाचारका अनेक कोण छन्, हुन्छन् र त्यसलाई पहिल्याउन सक्नु नै असल पत्रकारिता हो।
कार्यक्रमबाट फर्किने क्रममा हामी ज्योतिषसँगै गाडीमा परेका थियौं। सम्भवतः मधुसुदन ज्योतिष हुनुपर्छ। उतिसाह्रो स्मरणमा आउन सकेन थरचाहिँ।
उनले प्रचण्ड र डा. बाबुराम भट्टराईको राजनीतिक सम्बन्धको कुन्डली खुट्याएका रहेछन्। प्रचण्डलाई पनि त्यो जानकारी दिएका रहेछन्। अनि, त्यहि कुन्डलीको व्याख्या गरिदिए।
समाचारको एउटा अंशचाहिँ त्यो राजनीतिक सम्बन्धको कुन्डली पनि बन्यो।
तर गज्जबचाहिँ अर्को एङ्गल भयो। नियमित कामअनुसार ‘राजधानी दैनिक’मा समाचार प्रेषित गरिदिएँ।
समाचारको एङ्गल छनौटमा उतिसाह्रो अहिलेको जस्तो ज्ञान हुने थिएन। समाचार पठाइयो। तर, रात्री डेस्क इञ्चार्ज मोहन ढुङ्गेलले फोन गर्नुभयो। र, भन्नुभयो,‘बिनोद, भैंसीको पुच्छर समातेर पूजा गरेको विषयमा अझ डिटेल्स खोज्नुपर्ने भयो। यो ब्रेकिङ हुन्छ।’
मैले आयोजकसँग कुराकानी गरेर, तस्बिर मगाएर थप विवरण पठाएँ।
भोलीपल्ट ७ कोलमको बक्समा समाचार बाइलाइन प्रकाशित भयो। त्यो समाचारको प्रभावले काठमाडौं मात्र हल्लिएन, राजधानी दैनिकको खस्किरहेको छविमा एकाएक माइलस्टोन बन्ने स्थिति आयो।
यसबेला माओवादीको विभाजित स्वरुप, प्रचण्ड र बाबुरामको विपरित ध्रुवको गति हेर्दा त्यो कुन्डली ठिक थियो कि भन्ने पनि लाग्छ।
तर राजनीतिमा कुन्डली भन्दा पनि गतिले काम गर्छ अनि मतिले नै त्यसको बाटो पहिल्याउँछ भन्ने पनि देखिन्छ। किनभने राजनीतिक र खासमा बहुदलीय व्यवस्था मात्र देखेको हामै्रै पुस्ता, मेरै पुस्ताले नयाँ दल, स्वतन्त्र र इतिहासको फर्किएको रथ र कद पनि देखिरहेको छौं/छु।
एक भोट दाईलाई र एकभोट गाईलाई भनी संविधान सभामा मत मागेको काठमाडौंमा नै नदेखिएको होइन। गाईले पाएको मत सत्तासँग साटिएको तथ्य पनि देखेकै हो।
इतिहासमा नाकाबन्दी र चित्रबहादुर केसीजस्ता सादा जीवन र उच्च शैलीका नेता उपप्धानमन्त्री बनेको पनि हाम्रै पुस्ताले देख्यो। अनि, उपप्रधानमन्त्रीसम्म बनेर राजनीतिक रुपमा पतन बनिसकेका सीपी मैनाली पनि यहि पुस्ताले देखेकै हो।