गगन थापाको राजनीतिक उदय भएको त्रिचन्द्रमा स्ववियु सभापति उम्मेदवारले लगाए ताला
काठमाडौं– घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सभापतिका उम्मेदवारले तालाबन्दी गरेका छन्।
शुक्रबार स्ववियु सभापतिका दुई जना उम्मेदवारहरू श्रीधर श्रेष्ठ र विवेक बानियाँले तालाबन्दी गरेका हुन्।
उनीहरूले निर्वाचन समितिले मतपत्रमा उम्मेदवारको क्रमसंख्याको विषयमा एकलौटी ढंगले निर्णय गरेको भन्दै तालाबन्दी गरेका हुन्।
दुवै उम्मेदवार नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)का बागी उम्मेदवार हुन्। त्रिचन्द्रमा नेविसंघले गोविन्द कोइरालालाई उम्मेदवार बनाएको छ।
त्यहाँ नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका वामपन्थी दलका विद्यार्थी संगठनले तालमेल गरेका छन्।
उक्त क्याम्पस कांग्रेस महामन्त्री गगन थापाको राजनीतिक उदय गराउने थलो हो। थापाले सोही क्याम्पसको स्ववियु राजनीतिबाट नेवि संघ हुँदै अहिले कांग्रेसको महामन्त्री बन्ने मौका पाएका हुन्।