राजावादीको र्यालीबारे रास्वपाको मौनता एउटा प्रश्न तर दस्ताबेजीय उत्तर यस्तो छ
काठमाडौं– फागुन २५ गते ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा राजावादीले गरेको र्यालीमा तीन प्रमुख दलसहित गणतन्त्रवादीको कित्ता स्पष्ट छ।
तर यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आधिकारिक धारणा के हो? नेताहरू किन मौन छन् भन्ने एउटा प्रश्न उठेको थियो।
सभापति रवि लामिछानेले पोखरा र रुपन्देहीमा यस विषयमा खासै बोलेनन् बरु अहिलेका दलबाट जनता वाक्क दिक्क भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्रलाई त चुनौती नै दिइसकेका छन्। ओलीले लोकप्रियता रहेको भान भए दल खोलेर चुनावमा भाग लिनका लागि चुनौती दिए।
प्रचण्डले कटाक्ष गरी अहिले टाउको उठाउने काम नगर्नका लागि चेतावनी मात्र दिएनन् दाजुभाईको हत्यासहित मूर्ति चोरी गरी कसले बेचेको थियो भनी प्रश्न गरे।
राजावादी भनिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सदनमा रास्वपाको धारणा माग गरेका थिए। तर, यसमा अन्य सांसद र नेता स्पष्ट हुन सकेका छैनन्।
रास्वपाको दस्ताबेजीय प्रमाणले भने उसको नीति राजसंस्थाबिरोधी रहेको स्पष्ट छ।
महोत्तरीको जलेश्वरमा भएको भेलामा दस्ताबेजलाई अन्तिम रुप दिने क्रममा लोकतान्त्रिक गणतन्त्र मान्ने स्वीकार गरेको छ। यस विषयमा रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमा दस्ताबेज नै राखेका थिए।