Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारस्परिक हितमा लगानी बढाउनुपर्छ : सभामुख घिमिरे

शनिबार, चैत २, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

samridhi jewllers

फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आज यहाँ आयोजना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ ९बिआरआई० र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा उनले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

सभामुख घिमिरेले असल मित्र र निकट छिमेकीका रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै बृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको स्पष्ट पारे।  “नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौँ”, उनले भने, “नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दीगोपनाका लागि चीनबाट महत्त्वपूर्ण सहयोग रहने अपेक्षा गरेका छौँ ।”

नेपाल र चीनको ऐतिहासिक सम्बन्ध आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्दै सभामुख घिमिरेले बिआरआईमार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताए । उनले भने, “यो पहल नेपालका लागि केबल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोका खोल्ने अवसरका रूपमा लिनुपर्दछ ।”

नेपालले आफ्नो भौगोलिक अवस्थितिलाई उपयोग गर्दै ‘ट्रान्जिट हब’का रूपमा स्थापित हुनसक्ने औँल्याउँदै यसका लागि दुवै देशबीच भौतिक पूर्वाधार विकास सडक, रेलमार्ग, ऊर्जा, सूचना प्रविधि तथा व्यापारिक सहकार्यलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले सात दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकसित र सुदृढ हुँदै आएको बताए । “हाम्रो नीति शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त अर्थात् पञ्चशीलद्वारा निर्देशित छ”, उनले भने, “दुई देशबीचको सुमधुर सम्बन्धलाई थप सुदृढ र घनीभूत तुल्याउँदै लैजान हामी सदा तत्पर रहँदै आएका छौँ ।”

सभामुख घिमिरेले ‘एक चीन सिद्धान्त’लाई दृढतापूर्वक पालना गर्नुका साथै यसप्रति नेपालको प्रतिबद्धता बलियो रहिआएको स्पष्ट पारे । चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्त्वपूर्ण विकास साझेदार मुलुकको रूपमा रहिआएको उल्लेख गर्दै सभामुख घिमिरेले नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रूपमा रहेको जनाउँदै पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बिआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने बताए ।

बिआरआईलाई चिनियाँ ऋणको पासोका रूपमा केहीले टिप्पणी गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि वरदानसावित भएको जिकिर गरे । 

“बिआरआई नेपालका लागि महत्त्वपूर्ण प्रगति र समृद्धि हासिल गर्ने अवसर हो, यसलाई गम्भीरतापूर्वक विचार गर्नुपर्छ र सम्भावित फाइदाहरू बुझ्नुपर्छ”, नेता खनालले भने।

नेपालका लागि चिनियाँ राजदूत छन सङले पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरण, नवप्रवर्तन र नवीनतम ज्ञानको खोज, अनुसन्धानमा गरिरहेको प्रगतिका बारेमा जानकारी दिँदै नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए ।

डायलगअन्तर्गत नेपालमा विआरआई कार्यान्वयन: अवसर र चुनौतीलगायत विषयमा नेपाल र चीनका व्यवसायी, प्राध्यापकलगायतले छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्