टिपरलाई ‘ज्यानमारा गाडी’ भन्नुका ५ कारण
काठमाडौं– यसै साता मात्र उपत्यकामा टिपरको ठक्करबाट कम्तिमा चार जनाको मृत्यु भयो।
शनिबार मात्र दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएका छन्।
टिपरको ठक्करबाट कोटेश्वरको तिनकुनेमा एकजनाको मृत्यु भएको छ। बिहान अन्दाजी ४ः३० बजे तिनकुने गैरीगाउ पेट्रोलपम्प अगाडि टिपरले मोटरसाइकललाघई ठक्कर दिएको हो।
३–०२–००३ प ६२४५ नम्बरको मोटरसाइकललाई सेतो कलरको रातो पालले ढाकेको लोड ट्रिपरले ठक्कर दिएको जनाइएको छ। टिपर दुर्घटनापछि गौशालातर्फ फरार भएको थियो।
सवारी दुर्घटनामा दुई जना काभ्रेका रमेश तामाङ र सुकराम तामाङ घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको हो।
उपचारको क्रममा काभ्रे पनौती नगरपालिका ११ घर भई ललितपुर धापाखेल बस्ने सुकराम तामाङको बिहान साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।
काभ्रे बेथानचोक–६ का अन्दाजी ३० वर्षीय रमेश तामाङको उपचार भइरहेको छ। ठक्कर दिने टिपरलाई विमानस्थलको कार्गोभित्र फेला पारी नियन्त्रणमा लिएको तर चालक फेला नपरेको प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका–१, सानीटारी घर भएका अन्दाजी ३७ वर्षीय अनुज ढकाल रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
शुक्रबार साँझ साढे ७ बजे बिपी चोकस्थित सडकखण्डमा बा५ख ११६८ नम्बरको टिपरले बा १२ च २६९७ नम्बरको बोलेरो गाडीलाई टुचिन लगाएर गोकर्णतर्फ लानेर ल्याउँदै थियो।
त्यसक्रममा बा४८प ३६४० नम्बरको मोटरसाइकल टिपरसँग ठोक्किएको थियो।
काठमाडौंको साँखुमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भयो। बुधबार बेलुकी पौने ७ बजे शंकरापुर नगरपालिका वडा नम्बर ९ इन्ड्रेणीस्थित साँखु–जोरपाटी सडकखण्डमा टिपरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो।
ब्रम्हटोल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा९४प ४४९८को मोटरसाइकल र बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
शंकरापुर–७ साँखुका ५० वर्षीय पवनलाल श्रेष्ठ र सोही ठाउँ बस्ने २२ वर्षीय अनिश खड्काको टिपरको ठक्करबाट मृत्यु भएको थियो।
श्रेष्ठसँगै उनका आफन्त पुनम श्रेष्ठ पनि सवार थिइन्। ठक्करपछि घाइते भएका पवनलाललाई नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको थियो।
पुनम र अनिशलाई शंकरापुर अस्पताल लगिएको थियो। उपचारको क्रममा पवनलाल श्रेष्ठको सवा ७ बजे मृत्यु भएको थियो।
काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बा.प्र.०३–००१प ०५०० नम्बरको टिपरले बा.५४प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तार्केश्वर नगरपालिका चिसापानी बस्ने गोरखाका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको थियो।
यी केही उदाहरण मात्र हुन्।
हरेक बर्ष दुर्घटनाका धेरै जसो घटनामा टिपर पनि पर्छन्। यसकारण सडकका निम्ति टिपरलाई ज्यानमारा गाडी भनिन्छ।
ज्यानमारा गाडी भन्नुका खास ५ कारण रहेका छन्।
अत्यधिक गति र लापरबाहीपूर्वक चलाउने प्रवृत्ति पहिलो कारण हो। टिपरहरू ठूला, भारी र उच्च गतिको हुन्छन्। चालकहरूले समयसीमा पूरा गर्न हतारमा तीव्र गतिमा चलाउने गर्छन्।
रातिको समयमा अझै लापरबाही देखिन्छ, जसले दुर्घटनाको सम्भावना बढाउँछ।
दोस्रो कारणचाहिँ, ब्रेकिङ प्रणाली र नियन्त्रणको अभाव हो। टिपरहरूमा अन्य सवारी साधनभन्दा ढिलो ब्रेक लाग्छ।
ठूलो वजन भएका कारण छोटो दूरीमा रोक्न गाह्रो हुन्छ।
तेस्रो कारण अनियन्त्रित ओभरटेक र ट्राफिक नियम उल्लंघन हो। अन्य सवारीलाई थिचेर ओभरटेक गर्ने प्रवृत्ति धेरै देखिन्छ।
ट्राफिक बत्ती र संकेतलाई बेवास्ता गर्ने घटना बढी हुन्छ।
यसैगरी चौथोमा अयोग्य वा थकित चालक पर्छन्। जस्तो साँखुको घटना एउटा उदाहरण हो।
धेरैजसो चालकहरू लामो समयसम्म बिना आराम काम गर्छन्, जसले उनीहरूलाई थकित बनाउँछ।
धेरै चालकहरू दक्ष नभएको वा लापरवाह भएको पाइन्छ।
अन्तिम कारणचाहिँ सहरभित्रको असुरक्षित सञ्चालन पनि हो। काठमाडौंबाट धरान, पोखरा, बुटवल लगायतका मुख्य सहरहरूमा टिपरले धेरै पैदलयात्रीलाई किचेका घटना छन्।
साँघुरा बाटोमा पनि टिपरको उपस्थितिले जोखिम बढाउँछ। यसकारण सडकमा टिपर आउनासाथ अन्य सवारी साधारण चालकलगायतले भन्ने गरेका छन्, ‘आयो ज्यानमारा।’