ग्रीनकार्ड होल्डरलाई पनि निष्काशन गर्न सक्ने अमेरिकी उपराष्ट्रपति भान्सको भनाईले त्रसित
काठमाडौं– अमेरिकामा स्थायी बसोबासको अनुमति मानिने ग्रीनकार्ड होल्डर समेतलाई निष्काशन गर्न सकिने उपराष्ट्रपति जेडी भान्सको चेतावनीले नयाँ तरङ्ग पैदा भएको छ।
सामान्यतः ग्रीनकार्ड प्राप्त आप्रवासीले कानुनी रूपमै स्थायी रूपमा अमेरिका बस्न पाउँछन्।
यो कार्ड पाएका आप्रवासीलाई अमेरिकामा स्थायी रूपमा बसोवास गर्न र काम गर्ने अधिकार हुन्छ।
एउटा अन्तरवार्ताका क्रममा भान्सले यस्तो अभिव्यक्ति दिएका थिए।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार शनिबार राति विद्यार्थी आन्दोलनका नेताहरू मध्येका एक ग्रीन कार्ड होल्डर महमूद खलील पक्राउ परेपछि यो डर झन् बढेको छ।
सन् १९९५ मा सिरियामा प्यालेस्टिनी बाबुआमाका सन्तानका रूपमा जन्मिएका खलीललाई अमेरिकी गृह सुरक्षा विभागको आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आईसीई) टोलीले न्यूयोर्क सिटीको सडकबाट कुनै चेतावनीबिना पक्राउ गरेको हो।
सोमबारसम्म बेपत्ता बनाइएका खलीललाई उनका वकिलले न्यूयोर्कबाट १,००० माइल टाढा लुइसियानाको एक हिरासत केन्द्रमा स्थानान्तरण गरिएको पत्ता लगाए।
झन् आश्चर्यलाग्दो कुरा के भने, पक्राउ गर्ने अधिकारीहरूले खलीललाई कुनै अपराधमा आरोप लगाएनन्। खलीलकी आठ महिनाकी गर्भवती अमेरिकी पत्नीका अनुसार प्रारम्भमा आईसीई टोलीले खलीलले कोलम्बिया विश्वविद्यालयका लागि विद्यार्थी भिसा गलत तरिकाले प्राप्त गरेको आरोप लगाएको थियो।
भान्सको यो अभिव्यक्तिले एक करोड २० लाखभन्दा बढी आप्रवासीको भविष्य अन्यौलमा पर्न सक्ने आँकलन गरिएको छ।
अब डोनल्ड ट्रम्प प्रशासन खलीललाई अमेरिका बस्न अयोग्य ठहर गर्न खोजिरहेको छ, जसको मुख्य कारण अघिल्लो वर्ष कोलम्बिया विश्वविद्यालयमा भएका विद्यार्थी प्रदर्शनहरूमा उनको नेतृत्व रहेको बताइएको छ।
खलील सन् २०२३ देखि कोलम्बियामा अध्ययन गर्दै आएका छन्। उनी इजरायलले गाजामा गरेको आक्रमणको कट्टर आलोचक हुन्। उनले अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको युद्ध मन्त्रिपरिषद्को समर्थन गरेकोमा निन्दा गरेका थिए।