राजावादीहरूविरुद्ध सशक्त प्रतिवाद गर्ने समाजवादी मोर्चाको निष्कर्ष
काठमाडौं- समाजवादी मोर्चाले राजावादीहरूविरुद्ध सशक्त प्रतिवाद गर्न जरुरी रहेको निष्कर्ष निकालेको छ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले गणतन्त्रको रक्षा गर्न सबै दलहरूले राजावादीविरुद्ध प्रतिकार गर्न आवश्यक रहेको स्पष्ट पारेको हो।
देश र जनताको हित विपरीत अहिले राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र भइरहेको मोर्चाको भनाइ छ।
'संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मानोमानी, देश एवं जनताको हित विपरीतका गलत क्रियाकलापका कारण जनतामा पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रका विरुद्ध राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनर्उत्थानवादी तत्त्वहरू लागिपरेका छन्। यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु बर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ,' मोर्चाले चार बुँदे विज्ञप्तिमा भनेको छ।
राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधिका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गएको मोर्चाको दाबीफ छ। राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको मोर्चाको भनाइ छ।
'भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र सङ्कटग्रस्त छ। नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ। लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दैछ। अध्यादेशमार्फत सरकार चलाउने, सदनलाई छल्ने र संसदमा दर्ता भएका महत्पूर्ण विद्येयकहरू नियन्त्रण गरी राख्नेमा उद्धत छ। सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ। यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको छ,' मोर्चाले भनेको छ।