Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘जयन्दु बाल सुधार गृह’ झडप अपडेट : ४९ बालबन्दी अस्पताल भर्ना

शनिबार, चैत २, २०८१

बाँके - बाँकेको डुडुवा गाउँपालिका–६ असमानपुरस्थित ‘जयन्दु बाल सुधार गृह’ मा भएको झडप र आगजनीको घटनामा ४९ जना बालबन्दी घाइते भएका छन् ।उनीहरूलाई भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ ।

samridhi jewllers

शुक्रबार मध्यरातिदेखि सुरु भएको तनाव शनिबार दिउँसोसम्म साम्य भएको थियाे । घाइतेमध्ये केहीको अवस्था सामान्य र केहीको गम्भीर छ । बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मराज जोशीका अनुसार कुल ४९ जना बालबन्दीलाई अस्पताल भर्ना गरिएको हो ।

‘शुक्रबार राति ६ जना र शनिबार ४३ जना घाइते भएका छन्,’ उनले भने, ‘यीमध्ये सामान्य अवस्थादेखि गम्भीर चोट लागेकासम्म छन् । केहीले टाउको दुख्यो र अप्ठ्यारो भयो भनेर बताएपछि उनीहरूलाई पनि अस्पताल पुर्‍याइएको छ।’ गम्भीर घाइते दुई जनाको सिटी स्क्यान गरिएको प्रजिअ जोशीले बताए ।


बालबन्दीहरूले सुरक्षाका लागि खटिएका प्रहरीमाथि पनि इट्टा प्रहार गरेका थिए । यसबाट ३ जना प्रहरी घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा ल्याउन शनिबार दिउँसोसम्म प्रहरीलाई हम्मे–हम्मे परेको थियो । त्यसका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कुटाकुटका क्रममा ५–६ जना बालबन्दी भागेका थिए, तर पछि उनीहरू आफैं सम्पर्कमा आएको प्रजिअ जोशीले जानकारी दिए । उक्त सुधार गृहमा २५५ जना बालबन्दी र १२ जना प्रहरी बस्दै आएका थिए ।

आगजनीका कारण भवनको पहिलो तला बस्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ । आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो । ‘क्षतिका कारण ७०–८० जना बालबन्दीलाई बाँकेको नौवस्तास्थित बाल सुधार गृहमा स्थानान्तरण गरिएको छ,’ जोशीले भने, ‘पछि कारागार व्यवस्थापन विभागसँग समन्वय गरी दीर्घकालीन व्यवस्थापन गरिनेछ ।’

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्