प्रजातन्त्र नमासीकन राष्ट्रपतिको ठाउँमा राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गरेका छन् ।
नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासीकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उद्घोष गरेका हुन् ।
आज प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्तले नेपालका राजतन्त्रको बदख्वाइँ गरेपछि शाहीले उठेर प्रतिवाद गर्न खोजेका थिए । तर, सभामुखले उनलाई अनुमति दिएनन् । त्यसपछि आफ्नो पालोमा शाहीले गणतन्त्रको बदख्वाइँ गरेका छन् ।
रघुजीलाई कटाक्ष गर्दै शाहीले भने, ‘केही साथीहरू यही व्यवस्था राख्नुपर्छ भन्दै उफ्रिरहनु भएको छ । यो स्वभाविक पनि हो । यो यस्तो व्यवस्था हो, जहाँ चुनाव हारेर पनि सांसद, मन्त्री प्रधानमन्त्री हुन पाइन्छ । यो व्यवस्था आएको १६ वर्षमा १४ पटक सरकार परिवर्तन भए, १ हजार मन्त्री भए, ३ हजार सांसद भए । सबै मिलेर खान पाएपछि यही व्यवस्था उत्तम हो भन्नु स्वभाविक हो ।’