धनुषामा चोकको नाममा विवाद हुँदा दुई पक्षबीच झडप, प्रहरीले हान्यो आश्रुग्यास
जनकपुरधाम - धनुषाको सबैला नगरपालिका-९ भठिहनमा चोकको नाम विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले आश्रुग्यास प्रहार गरेको हो ।
आश्रुग्यास प्रहार गर्दै प्रहरीले लाठीचार्ज पनि गरेको छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले स्थिति नियन्त्रणमा लिन एकसेल आश्रुग्यास प्रहार गरेको बताए ।
उनले भने, ‘एक पक्षले यादव चोक हुनुपर्छ भन्छन् । अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भन्छन् । चोकको विषयमा दुई पक्षबीच झडप भएको छ ।’
केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेको थियो । ‘यादव चोक’ को बोर्ड समेत सडकमा राखेपछि विवाद चुलिएको छ ।
भठिहनका बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएको बुझिएको छ । यादव चोक नामाकरणको विरुद्धमा सबैलाका पूर्वमेयर विजयशंकर प्रसाद साह पनि उभेका छन् ।